स्वास्थ्योपचारको क्षेत्र आमूल परिवर्तनको दिशातर्फ उन्मुख हुँदै गएको छः मुख्यमन्त्री पौडेल

बाग्मती खबर
१३ मंसिर २०७७, शनिबार १०:०६

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश राजधानी हेटौंडाको स्वास्थ्योपचारको क्षेत्र आमूल परिवर्तनको दिशातर्फ उन्मुख हुँदै गएको बताउनुभएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको हेटौंडा अस्पतालमा सञ्चालनको क्रममा रहेको सघन उपचार कक्ष (आइसियु) को निरीक्षण गर्दै मुख्यमन्त्री पौडेलले हेटौंडा अस्पतालमा आइसियु सञ्चालन पश्चात् मकवानपुर र आसपासको स्वास्थ्योपचारको क्षेत्रमा वरदान सावितहुने विश्वास व्यक्त गर्नुभयो । मुख्यमन्त्री पौडेलले मानवका लागि अत्यावश्यक पर्ने उपचार सेवा गुणस्तरीय र भरपर्दो हुनुपर्ने तथा हरेक उपकरणहरुले युक्त हुनुपर्ने धारणा राख्नुभयो । प्रदेश सरकार जनताका आधारभूत आवश्यकताहरु पुरागर्न तल्लिन रहेको उल्लेखगर्दै पौडेलले प्रदेशका सबै स्थानीय तह र जिल्लाहरुमा स्वास्थ्योपचार सेवा सहज बनाइने बताउनुभयो । 

यसैगरी, मुख्यमन्त्री पौडेलले हेटौंडा ८ कमानेमा रहेको सामुदायिक भवनको समेत अनुगमन गर्नुभएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुसन्धान केन्द्र निर्माणका लागि प्रयोगमा ल्याउन लागिएको सामुदायिक भवनको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, प्रतिष्ठानका उपकुलपति प्रा.डा. विश्वराज जोशी, रेक्ट्रर डा. सतिस देव, रजिस्ट्रार राजेश प्रसाईं , निर्देशक डा. हरी बहादुर खड्का, संयोजक चिरञ्जीवी चुडाललगायतको टोलीले निरीक्षण तथा अनुगमन गरेको थियो ।