घरघरमा सिंहदरवारको नाराले सार्थकता पाउँदै गएको छ -मुख्यमन्त्री पौडेल

बाग्मती खबर
१५ मंसिर २०७७, सोमबार १५:०५

वाग्मती प्रदेशका मुख्मन्त्री डोरमणि पौडेलले घरघरमा सिंह दरवारको नाराले सार्थकता पाउँदै गरेको बताउनुभएको छ । पौडेलले सरकारले विगतमा गरेको प्रतिवद्धता अनुरुपको काम गर्न थालेको उल्लेख गर्दै सरकारले विकासको लय समातेको बताउनुभयो । सरकारको कार्यक्रम अनुसार मकवानपुरको मनहरीमा स्थापना हुन लागेको अस्पतालको शिलान्यास गर्दै मुख्यमन्त्री पौडेलले स्वास्थ्य सुविधा लगायतका कुराहरु गाउँगाउँमा पु¥याउने काममा सरकार लागेको उल्लेख गर्नुभयो । उहाँले देशमा हालसम्म अस्पताल नभएका तीनसय ९६ वटा स्थानीय तहमा ५, १० र १५ शैयाका आधारभूत अस्पताल बनाउने योजनाअनुसार सबै अस्पतालको शिलान्यास गरिएको जानकारी दिदै वाग्मती प्रदेशमा मात्रै ५१ वटा अस्पतालको शिलान्यास गरिएको बताउनुभयो । पौडेलले आजै हेटौंडा अस्पतालमा ७ शैयाको आईसियु र १० शैयाको एचडियु कक्षकोसमेत शिलान्यास गरिएको बताउँदै सिन्धुली, भक्तपुर र नुवाकोटका अस्पतालमा आईसियु, एचडियु र पिसिआर ल्याब संचालनमा आएको तथा धादिङमा आईसियु र पिसिआर ल्याब शुरु गर्ने क्रममा रहेको जानकारी दिनुभयो । प्रदेश सरकार स्थापना भएपछि स्थानीय तहमा १७ वटा अस्पताल र स्वास्थ्य चौकी निर्माणभई संचालनमा रहेको उहाँको भनाई थियो ।
कार्यक्रममा राष्ट्रिय सभाका सदस्य तथा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिडारीले नागरिकको आधारभूत आवश्यकताको रुपमा रहेको स्वास्थ्योपचार सेवा विस्तार गर्नका लागि सरकारले गरेको कामको उच्च प्रशंसा गरिने बताउँदै सरकारले गरेको राम्रो कामको लागि तालि र नराम्रा कामका लागि गाली गरिनुपर्ने बताउनुभयो ।