खानेपानीको धारा नभएका हरेक घरमा धाराको व्यवस्था हुन्छः मन्त्री फुयाल

बाग्मती खबर
१६ पुष २०७७, बिहीबार १०:४०

वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयालले प्रदेश सरकारले प्रदेशका धारा नभएका हरेक घरमा खानेपानीको धारो व्यवस्था गर्ने बताउनुभएको छ । मन्त्री फुयालले अहिलेको युगमा समेत एकगाग्री खानेपानीका लागि पनि घण्टौं हिड्नुपर्ने वाध्यता रहनु दुखद भएको उल्लेख गर्नुभयो । हेटौंडा उपमहानगरपालिकाको एउटा वडामा खानेपानीका लागि ३ घण्टासमम हिड्नुपर्ने वाध्यता रहेको समाचार विभिन्न सञ्चारमाध्यमहरुमा प्रकाशन प्रसारण भएपछि मन्त्री फुयालको पहलमा भौतिक पूर्वाधार विकास मन्त्रालयमा आयोजित सरोकारवालाहरुको छलफल कार्यक्रमलाई सम्बोधनगर्दै मन्त्री फुयालले तत्काल खानेपानीको व्यवस्था गर्न निर्देशन दिनुभयो । प्रदेश सरकारको एकघर एकधारोको नीति रहेको उल्लेख गर्दै हरेक घरमा धारो बनाउनु पर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा मन्त्रालयका सचिव संजिव बरालले खानेपानी कार्यलयका प्रमुखलाई आगामी असार अगाबै ट्याङ्की निर्माणको काम सम्पन गर्न निर्देशन दिँदै आवश्यक सहकार्यका लागि मन्त्रालय तयार रहेको बताउनुभयो । उहाँले उत्त क्षेत्रमा खानेपानीको व्यवस्था गर्न भौतिक पूर्वाधार विकास मन्त्रालयले बजेट विनियोजन गरिसकेको जानकारी दिनुभयो ।
हेटौंडा उपमहानगरपालिका १९ का वडाअध्यक्ष नवराज सुबेदीले भौगोलिक रुपमा समेत विकट रहेको आफ्नो वडाको केही भागमा खानेपानी लगायत सडक सञ्जालको समेत विकास गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उक्त वडाका ६ सय ३ घर परिवारसँग खानेपानीको धारा नभएको र नजिकै पानीको स्रोत समेत नभएकोले एकगाग्री पानीका लागि पनि ३ घण्टासम्म हिड्नुपर्ने वाध्यता रहेको बताउनुभयो । आफूहरुले हरेकवर्ष पानीको व्यवस्थापनका लागि काम गरिरहेको बताउँदै वडाअध्यक्ष सुबेदीले मुहानबाट पानीलाई एकिकृतगरी मध्यभागमा सामुहिक कुवा तथा धारा निर्माण गर्ने काम गरिएको जानकारी दिनुभयो ।
छलफलमा पत्रकार मान्वी बाँनियाले आफूहरुले उठान गरेको विषयवस्तुको बारेमा प्रदेश सरकारका सम्बन्धित मन्त्रीलेनै चासो दिएर समस्याको समाधानका लागि पहल गर्नुभएकोमा धन्यवाद दिनुभयो ।