समृद्ध नेपाल निर्माणको अभियानमा अवरोध उत्पन्न भएको छ – मुख्यमन्त्री पौडेल

बाग्मती खबर
१६ पुष २०७७, बिहीबार १८:२५

वाग्मती- वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सुखी नेपाली, समृद्ध नेपाल निर्माणको अभियानमा अवरोध उत्पन्न भएको बताउनुभएको छ । नेकपा मकवानपुरको आयोजनामा आज हेटौंडामा भएको मोर्चा संगठनहरुको बृहत भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले जनताको बहुदलीय जनवादको आलोकमा पुनः राष्ट्रियता, जनजीविका, सामाजिक न्याय सहितको समृद्ध नेपाल निर्माणको अभियानलाई नयाँ उचाईका साथ अगाडि बढाइने उल्लेख गर्नुभयो । उहाँले गत निर्वाचनमा जनताले व्यापक जनसमर्थन सहित कम्युनिष्ट पार्टिलाई शासन सक्ताको नेतृत्व सुम्पिएको उल्लेखगर्दै सरकारले जनचाहना अनुरुपनै रेलदेखि पाईलाईनबाट तेल ल्याउने सम्मको काम गरेको, कालापानी लिपुलेक र लिम्पियाधुराको भूमि फिर्ता ल्याउने, सगरमाथाको उचाई मापन गर्ने, व्यक्तिले हडपेका सार्वजनिक जमिन फिर्ता ल्याउनेदेखि देशलाई सुरुङमार्गको युगमा प्रवेश गराउने, भत्किएको धरहरा ठड्याएर नेपाली स्वाभिमान उठाउने, अन्तराष्ट्रिय विमानस्थलहरुको निर्माणदेखि ठूला विकास आयोजनाहरुको द्रुततर विकास, गाउँगउँमा सडक, यातायात, प्राविधिक शिक्षालयको व्यवस्था, आधारभूत अस्पतालको व्यवस्था लगायत समृद्धिका लागि भएका प्रयासहरु भुल्न नहुने बताउनुभयो ।
“मूलतः नेकपाका श्रदय अध्यक्ष सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्युले राष्ट्र र राष्ट्रियताका सन्दर्भमा प्रर्दशन गर्नुभएको चट्टानी अडान, भारतीय दबाव, हैकमलाई वेवास्ता गर्दै, नाकाबन्दीलाई घँुडा टेकाउदै संविधान निर्माणमा खेल्नुभएको भूमिका, विकास र समृद्धिका लागि देखाउनु भएको सपना, जनजीविकाका सवालमा देखाउनुभएको संवेदनशिलता लगायतका कारणले जनताले समृद्ध नेपाल, सुखी नेपालीको जिम्मेवारी सहित नेकपालाई जनमत दिएका थिए” पौडेलले भन्नुभयो । पौडेलले प्रधानमन्त्री केपि शर्मा ओलीले जनादेश अनुसार गर्नुभएको समृद्धिको नेतृत्व, राष्ट्रियताको सवालमा लिपुलेक, लिम्पियाधुरा, कालापानी लगायत क्षेत्रहरु नेपालको आधिकारिक नक्सामा समेट्ने र त्यसका लागि सर्वसम्मतरुपमा संविधान संशोधन गर्नेकार्यआदिबाट अत्तालिएकाहरुले सरकारलाई पटकपटक घेराबन्दी गर्ने तथा असफल सिद्ध गर्ने चेष्टा र पछिल्लो पटक अविश्वासको प्रस्ताव समेत ल्याउने घृष्टता भएपछि मात्रै प्रधानमन्त्रीले जनताकोबीचमा जाने निर्णय गर्नुपरेको छर्लङग रहेको बताउनुभयो ।
कार्यक्रममा विघटित प्रतिनिधि सभाका अर्थ समिति सभापति कृष्ण प्रसाद दाहालले केपी ओली नेतृत्वको वर्तमान सरकारले जनाधेश अनुसार उत्कृष्ठ कार्यहरु गर्दागर्दै आफ्नै पाटीका नेताहरुबाट घेराबन्धीको सामना गर्नुपरेको बताउनुभयो ।
युवा संघका संहसंोजक रमेश पौडेलले नेकपा भित्र आधिकारिकताको बहस आवश्यक नरहेको बताउनुभयो । प्रधानमन्त्री ओलीको नेतृत्वमा रहेको नेकपाले नै पार्टी कार्यालय तथा चुनाव चिन्ह सुर्य प्राप्त गर्ने उहाँको भनाई थियो ।
नेकपाका अर्का केन्द्रीय सदस्य महेशकुमार बर्तौलाले ओली नेतृत्वको नेकपानै आधिकारिक रहेको भन्दै पछिल्लो समयमा केही व्यक्तिहरु मूल प्रवाहबाट भाग्न खोजेको भन्दै घर मूलधारमै फर्खन आह्वान गर्नुभयो ।
केन्द्रीय सदस्य अनन्त पौडेलले सरकारका राष्ट्रवादी कामहरुका कारण प्रधानमन्त्रीले चौतर्फी घेराबन्धीको सामना गर्नुपरेको दावी गर्नुभयो ।
कार्यक्रममा नेकपा केन्द्रीय सदस्यहरु रामेश्वर राना, रघुनाथ खुलाल, जुनेली श्रेष्ठ, युवा संघका केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष सन्तोष चौलागाई लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।