वाग्मती प्रदेशसभाको बैठक माघ ७ गते बस्ने

बाग्मती खबर
१७ पुष २०७७, शुक्रबार १७:३४

हेटौंडा — वाग्मती प्रदेशको प्रदेशसभा बैठक माघ ७ गते बस्ने भएको छ । प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको सातौं अधिवेशन माघ ७ गते दिउँसो ३ बजेका लागि बोलाउन प्रदेश प्रमुख विष्णु प्रसाईंसमक्ष सिफारिश गरेको सरकारका प्रवक्ता एवं प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री मन्त्री कैलाशप्रसाद ढुंगेलले जानकारी दिनुभयो ।

मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध आफ्नै दल नेकपाको दाहाल–नेपाल समूहबाट प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएपछि प्रदेशसभाको सातौं अधिवेशनको विषय अन्योलमा परेको थियो । बजेट अधिवेशन सकिएसँगै साउन ८ गते प्रदेशसभाको छैटौं अधिवेशन स्थगित गरिएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओली समूहका मुख्यमन्त्री पौडेलविरुद्ध दाहाल–नेपाल समूहका ४५ जना सांसदहरुले पुस १० गते अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।
कानूनी व्यवस्थाअनुसार एउटा अधिवेशन सकिएको ६ महिनाभित्र अर्को अधिवेशन शुरु गर्नुपर्ने हुन्छ।