मुख्यमन्त्री हुने रहरलाई ‘भित्ते मुख्यमन्त्री’ को रूपमा सीमित पारिन्छ: मन्त्री फुयाल

बाग्मती खबर
१९ पुष २०७७, आईतवार १०:१४

हेटौंडा- वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयालले मुख्यमन्त्री डोरमणि पौडेल विश्वासको मत प्राप्त गर्न सक्षम रहेको बताउनुभएको छ । आज रासससँग कुरागर्दै मन्त्री फुयालले मुख्यमन्त्री पौडेलले प्रदेश सभामार्फत विश्वासको मत लिएर पाँचैवर्षको कार्यकाल पुरागर्ने दाबी गर्नुभयो ।
उहाँले प्रदेश सभामा दर्ता गरिएको भनिएको अविश्वासको प्रस्तावमा अन्य प्रयोजनका लागि प्रदेश सभा सदस्यले गरेका हस्ताक्षरको दुरुपयोग भएको पाइएको तथा प्रस्तावमा सही गरिएका सदस्यहरुले आफ्नै दलका नेता विरुद्ध अविश्वासको प्रस्तावमा आफ्नो नाम र हस्ताक्षर किर्ते भएको बताएको उल्लेख गर्नुभयो । उहाँले कसैलाई मुख्यमन्त्री बनाउन वा बनिन विकास र समृद्धिको अभियानलाई नै गम्भिर असर पर्नेगरी थालिएको अस्थिरताको बिजारोपण रोकिने र अमुक व्यक्तिहरुको मुख्यमन्त्री हुने रहरलाई “भित्ते मुख्यमन्त्री” को रुपमा सिमित पारिने दावी गर्नुभयो । सरकार गठनभएको तीनवर्ष पनि नपुग्दै भण्डै एक हजार ५ सय किलोमिटर सडक बनाएको, १ सय भन्दा बढी पुल बनाएको, सुरुङमार्ग निर्माण प्रारम्भ गरेको, विद्युतीय सवारी सञ्चालनको आधार तयार पारेको, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान शुरुआत गरेको, प्रदेशका विभिन्न अस्पतालहरुमा आइसियु तथा भेन्टिलेटरसहितको सेवा सूचारु गरेको, दुईहजार भन्दा बढी विद्यार्थी पढ्न सक्ने प्राविधिक विद्यालय निर्माण प्रारम्भ गरेको, जिल्ला जिल्लामा चक्लाबन्धी खेती शुरुगरी प्रदेशलाई आत्मनिर्भर बनाउन भूमिका खेलेको, किसानको उत्पादन सुरक्षित राख्न प्रदेशका सबै जिल्लामा शीत भण्डार निर्माण गरेको, अन्तर्राष्टियस्तरको कृषि बजार स्थापनाको काम प्रारम्भ गरेको, दुग्ध तथा मासुजन्य पदार्थमा प्रदेशलाई आत्म निर्भर बनाउन भूमिका खेलेको, युवाहरुलाई उद्यमशील बनाउन उद्यमशीलता कार्यक्रम शुरु गरिएको, हजारौं घरबार विहीन नागरिकहरुलाई पक्का घरको व्यवस्था गरेको, जेष्ठ नागरिकहरुको निशुल्क उपचारको व्यवस्था गरेको जस्ता मुख्यमन्त्री पौडेल नेतृत्वको सरकारले गरेको कामहरुबाट आत्तिएका व्यक्तिहरुले गलत मनासायले सरकारलाई असफल देखाउन हस्ताक्षरको समेत किर्तेगरी अविश्वासको प्रस्ताव दर्ता गरिएको उहाँको आरोप थियो ।