कोरोना परीक्षणको नक्कली रिपोर्ट बनाएर विदेश जान खोज्ने सात जना पक्राउ

बाग्मती खबर
२० पुष २०७७, सोमबार १०:१८

हेटौँडा – कोरोना भाइरस संक्रमण परीक्षणको नक्कली रिपोर्ट बनाएर विदेश जान खोज्ने सात जनालाई लाई प्रहरीले पक्राउ गरेको छ । नक्कली पिसिआर रिपोर्ट बनाउनुने मकवानपुरका रोशनप्रसाद आचार्य सहित सातै जनालाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
विदेश जानको लागि पीसीआर परीक्षणको नक्कली रिपोर्ट पेश भएको पाइएपछि उनलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रमेश विष्टले जानकारी दिनुभयो ।
पक्राउ पर्नेहरुमा सल्यानका दिनेश सिंह, धनुषाका तेजनारायण महत्तो, छेदी महतो र सोलेन्द्र महतो, अर्घाखाँचीका प्रवीन भट्टराई र सिन्धुपाल्चोकका माइला तामाङ रहेका छन् । पक्राउ परेका उनीहरुमाथि महानगरीय प्रहरी वृत्त गौशालाले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकया अगाडि बढाइएको जनाएको छ । उनीहरु फ्लाईट दुबईको उडानबाट विदेश जान लागेको बुझिएको छ ।