केही व्यक्तिहरुको पद प्राप्तिको अतृप्त चाहनाका कारण नेकपा भित्र समस्या उत्पन्न भएको होः मुख्यमन्त्री पौडेल

बाग्मती खबर
२४ पुष २०७७, शुक्रबार ०६:४४

हेटौंडा- वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले केही व्यक्तिहरुको पद प्राप्तिको अतृप्त चाहनाका कारण नेकपा भित्र समस्या उत्पन्न भएको बताउनुभएको छ । आज हेटौंडाको पदमपोखरीमा नेकपाका अगुवा कार्यकर्ता भेलालाई सम्बोधनगर्दै पौडेलले केपी ओली नेतृत्वको सरकारलाई नेकपा भित्रैबाट असहयोग भएको बताउनुभयो । मुख्यमन्त्री पौडेलले प्रदेश सरकारलाई समेत काम गर्न नदिने खेल शुरु भइसकेको उल्लेखगर्दै सरकारलाई अस्थीर बनाएर विकासका गतिविधि रोक्ने खेल प्रतिपक्ष भन्दापनि आफ्नै दलका नेताहरुले शुरु गरेको बताउनुभयो । पौडेलले आफूलाई हटाउन आफ्नै जिल्लाका र आफ्नै दलका व्यक्तिहरु लागेकाले उनीहरुलाई मकवानपुरका जनताले जिल्लाको विकास विरोधीका रुपमा बुभ्mनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेकपाकी केन्द्रीय सदस्य तथा वाग्मती प्रदेश सभा सदस्य जुनेली श्रेष्ठले जिल्लाका विकास प्रेमी नेता मुख्यमन्त्री पौडेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेर मकवानपुरे जनताको विश्वासमाथि कुठाराघात गर्ने जिल्लाका माननीयहरुलाई चिन्नुपर्ने बताउनुभयो । समग्र प्रदेशमा विकासका लागि मरिमेटेका उनै मुख्यमन्त्रीलाई हटाउन आफ्नै जिल्लाका केही नेता लागेको भन्दै केन्द्रीय सदस्य श्रेष्ठले राजधानी भएको हिसाबले मकवानपुरमा बढीनै विकासका परियोजनाहरु परेको उल्लेख गर्दै जिल्लाको विकास नचाहनेहरुले मुख्यमन्त्री परिवर्तनको खेल शुरुगरेको धारणा राख्नुभयो ।
कार्यक्रममा नेकपा मकवानपुरका युवा नेता तथा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ का वडाअध्यक्ष दीपक खड्काले हेटौडालाई प्रदेशको राजधानी, हेटौडा अस्पताललाई ३०० बेडको मदन भन्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रुपान्तरण, भीमफेदी कुलेखानी सुरुङ मार्ग निर्माणको थालनी, हेटौडा ६ मा दुई हजारसम्म युवा पढ्न सक्ने बहुप्राविधिक महाविधालय, गौरीटार वृहत रङ्गशाला, प्रदेश चक्रपथ, काठ चक्रपथ, विद्युतीय बसको शुभारम्भ, पालिका सदरमुकाम सुगम पार्न पक्की सडक निर्माणको कार्यप्रारम्भ लगायत समग्र विकासको ऐतिहासिक नेतृत्व गरिरहनु भएका मुख्यमन्त्री पौडेल विरुद्ध लाग्नेहरु विकास र संमृद्धिका बाधक भएको बताउनुभयो ।