जनताको भावना कुण्ठित हुनपुगेकोमा चिन्तित छौं – उपप्रधामन्त्री पोखरेल

बाग्मती खबर
२५ पुष २०७७, शनिबार २०:०३

उपप्रधानमन्त्री ईश्वर पोखरेलले जनताको भावना कुण्ठित भएकोमा चिन्तित रहेको बताउनुभएको छ । नेकपाको स्थायी समितिका सदस्य समेत रहनुभएका उपप्रधानमन्त्री पोखरेलले आज नेकपा मकवानपुरको जिल्ला भेलालाई सम्बोधनगर्दै नेकपाभित्रको प्रचण्ड, माधव समूहले जनभावनालाई बेवास्ता गरेको आरोप लगाउनुभयो । उहाँले जनताको पाँचवर्षका लागि केपी ओलीलाई प्रधानमन्त्री बनाउने चाहनालाई अर्को पक्षबाट सम्मान नगरिएको दावी गर्नुभयो । “नेकपा अध्यक्ष प्रचण्डको अन्तरविरोध सिर्जनागर्दै जाने, ढाडमा टेकेर टाउकोमा हान्ने प्रवृत्ति र अर्का नेता माधव नेपालको पद बाहेक बस्नै नसक्ने कुण्ठाको कारण नेकपा भित्र विवाद सिर्जना भएको हो” उहाँले भन्नुुभयो ।
“कुर्सीको आकार हेर्ने, घनचक्कर पैदागर्ने, इश्र्या र डाह बोक्नेहरुले महाधिवेशनबाट अध्यक्ष र निर्वाचनबाट प्रधानमन्त्री बन्नुभएका केपी शर्मा ओलीको हाइहाइ र लोकप्रीयताबाट कुण्ठित भएर आफ्नै दलका प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने, राष्ट्रपतिलाई महाअभियोग लगाउने खेल खेलेका कारण प्रधानमन्त्रीले संसद विघटन गर्नुपरेको हो” पोखरेलको भनाई थियो ।
कार्यक्रममा नेकपा वाग्मती प्रदेश सहईन्चार्ज तथा केन्द्रीय सदस्य काशीनाथ अधिकारीले केपी शर्मा ओलीको नेतृत्वमा रहेको पार्टी नै आधिकारिक नेकपा भएको र यसै नेकपाले चुनाव चिन्ह सुर्य प्राप्त गर्ने बताउनुभयो ।
वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रजातन्त्रको सुन्दरता भनेको निर्वाचन भएको उल्लेखगर्दै निर्वाजनबाट जनताले गर्ने फैसलालाई सबैले स्वीकार गर्न तयार हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवं प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल, केन्द्रीय सदस्यहरु रामेश्वर राना, अनन्त पौडेल, कृष्णप्रसाद दाहाल, रघुनाथ खुलाल, जुनेली श्रेष्ठ, मधुसुधन खतिवडा, महेश बर्तौला, प्रल्हाद लामिछानेलगायतको उपस्थिति रहेको थियो । रासस