प्रदेश सरकारले शीर ठाडो हुनेगरी काम गरिरहेको – मुख्यमन्त्री पौडेल

बाग्मती खबर
६ माघ २०७७, मंगलवार १८:११

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले वाग्मती प्रदेश सरकारले शीर ठाडो हुनेगरी काम गरिरहेको बताउनुभएको छ । “वाग्मती प्रदेश विकास दर्पण” को विमोचन गर्दै मुख्यमन्त्री पौडेलले विकासका योजना निर्माण र कार्यान्वयन, सुशासन कायम, आर्थिक विकास लगायत सबै प्रकारका सूचकहरुमा वाग्मती प्रदेश अगाडि रहेको धारणा राख्नुभयो । पौडेलले सडक, पुल, खानेपानी, सिंचाइँ जस्ता विकासका आधारभूत आवश्यकता पुरागर्ने देखि लिएर सुरुङमार्ग निर्माणको योजनासमेत कार्यान्वयनको चरणमा रहेको बताउनुभयो ।
मुख्यमन्त्री पौढेलले अन्तर्राष्ट्रिय बोलपत्र आश्वान गर्नुपर्ने तथा केन्द्र सरकारसँग समेत साझेदारी गर्नुपर्ने भएका कारण सुरुङमार्ग निर्माणमा केहि ढिलाई भएको भएपनि अब केहि समयमै निर्माण प्रारम्भ हुने बताउनुभयो ।
सरकारले विद्युतीय सवारीलाई प्राथमिकता दिन लागेको बताउदै वाग्मती प्रदेशका हरेक योजनाहरु अन्य क्षेत्रहरुका लागि समेत अनुसरणीय हुने गरेको उहाँले बताउनुभयो । पौडेलले “सुसंस्कृत र सुखी जनता समाजबाद उन्मुख समृद्ध प्रदेश” को दूरगामी सोँचलाई पुरा गर्न प्रदेशको पहिलो आवधिक योजना २०७६।७७ – २०८०।८१ कार्यान्वयनमा ल्याइएको, प्रदेश नीति तथा योजना आयोगबाट दिगो विकास लक्ष्यसहित अन्य दस्तावेज तयार भइ कार्यान्वयनमा ल्याइएको, आफू र मन्त्रीहरू बीच, मन्त्री र सचिव बीच एवं सबै तहका कार्यालय प्रमुखसँग कार्य सम्पादन करार संझौता भएको र त्यसको परिणाम सकारात्मक आएको उल्लेख गर्नुभयो । मुख्यमन्त्री पौडेलले सरकार गठनको तीन वर्ष समेत नपुगिकनै सरकारले गरेका कामहरुको परिणाम देखिन थालिसकेको बताउनुभयो ।