वाग्मती सरकार र गाउँपालिकाको लगानीमा बस्ती निर्माण

बाग्मती खबर
२१ माघ २०७७, बुधबार ०७:५७

 

हेटौंडा । वाग्मती प्रदेश सरकारले तल्लोबर्गका घर, खेतबारी समेत नभएका परिवारलाई नमुना वस्ती निर्माण गर्ने योजना अनुसार काम भइरहेको छ । पछाडी परेका समुदायका लागि एकीकृत वस्ति निर्माण गरिएको हो ।

रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका–३ डफ्काको माझी गाउँमा बागमती प्रदेश र खाँडा देवि गाउँपालिकाको संयुक्त लगानीमा एकीकृत नमुना बस्ती तयार भएको छ ।

वाग्मती प्रदेश सरकार र गाउँपालिकाको संयुक्त लगानीमा बस्ती निर्माण भएको हो । एकीकृत बस्तीमा ४२ वटा घर, सामुदायीक भवन, खेल मैदान लगायतका संरचना पनि बनेका छन् । एकिकृत नमुना बस्तीको यही माघ २४ गते बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।

वाग्मती प्रदेश सरकारको १ करोड ५० लाख रुपैँया र गाउँपालिकाको ७५ लाख रुपैँया गरी २ करोड २५ लाख रुपैँयाको लागतमा बस्ती निर्माणको काम सम्पन्न भएको खाँडादेवी गाउँपालिका अध्यक्ष प्रेम तामाङले जानकारी दिनुभयो ।

एकीकृत बस्तीमा ४२ वटा दुई कोठे घर र शौचालय छन् । त्यस्तै सामुदायीक भवन, खेल मैदान लगायतका संरचना पनि बनेका छन् । स्थानीय माझी समुदायको २६ रोपनी जमिनमा बस्ती बनेको हो ।

उद्घाटन कार्यक्रममा मुख्यमन्त्रीका साथै वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामा लगायतको सहभागिता हुने गाउँपालिका अध्यक्ष तामाङले बताउनुभयो ।

बस्तीलाई होम स्टेको रुपमा विकास गरी सुनकोसी नदीमा डुंगा र र्‍याफ्टिङ समेत सञ्चालन गरेर पर्यटकलाई आकर्षित गर्ने योजना रहेको वडाध्यक्ष पुष्कर कार्कीले बताउनुभयो । सुनकोसी पारि सञ्चालनमा रहेको बीपी मार्ग र निर्माणाधीन मध्यपहाडी मार्गसँगै जोडिएको सो बस्ती माझी संस्कृतिको पर्यटन केन्द्र बन्नसक्ने देखिन्छ ।