मतविभाजन कार्यविधि नहुँदा सदन चलाउन सकिएन– सभामुख श्रेष्ठ

वाग्मती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्तावलाई टुंग्याउन आवश्यक ‘मतविभाजन कार्यविधि’ नहुँदा बैठक सञ्चालन गर्न नसकिएको बताएका छन् ।
शुक्रबार प्रदेशसभा सचिवालयमा पत्रकार सम्मेलन गर्दै सभामुख श्रेष्ठले प्रदेशसभा सञ्चालन गरेपछि मतदानको प्रक्रियामा अगाडि बढाउनुपर्ने भएका कारण ‘मतविभाजन कार्यविधि’ तयार नहुँदा समस्या भएको दाबी गरेका हुन् । ‘मतविभाजनका लागि आवश्यक कार्यविधिको मस्यौदा बनाउन समिति बनाइएको छ ।
उक्त समितिले अझै कार्यविधि सचिवालयलाई उपलब्ध गराएको छैन,’ उनले भने । उनका अनुसार सदनमा प्रतिनिधित्व गर्ने सर्वदलिय सांसदहरुको प्रतिनिधित्व रहने गरी समिति निर्माण गरिएको भएपनि कार्यविधि अझै निर्माण भइसकेको छैन ।
कार्यविधि निर्माणका लागि सांसदहरु राजेन्द्र पाण्डे, बुद्धिमान माझी, केशब पाण्डे, गणेश दुलाल, छिरिङ दोर्जे, शोभा शाक्य, सुरेन्द्र गोसाईं, रिना गुरुङ र रिता माझीसहितको समिति गठन गरिएको थियो । ‘हाउस सञ्चालन गर्न समस्या छैन । तर, मतविभाजन गर्न समस्या छ । दलहरुले नो भोटिङको व्यवस्था समेत माग गरेका छन् । यस विषय मस्यौदा समितिले टुंग्याएर सदनमा कार्यविधि आएपछि बैठक सञ्चालन गरिनेछ,’ उनले भने, ‘अहिलेको अवस्थामा हाउस सञ्चालन भयो भने मतदानको समयमा रोक्नुपर्ने हुन्छ । त्यसकारण पटकरपटक बैठक स्थगित गर्नुपरेको हो ।’
बुधबार दिउँसो २ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक सभामुख श्रेष्ठले बिहान ६स्३५ मा सूचना टाँसेर स्थगित गरेका थिए । यसअघि माघ १९ का लागि तय बैठक अघिल्लो राति सूचना जारी स्थगित गरिएको थियो । सत्तारूढ नेकपाको दाहाल–नेपाल समूहका ४५ जना सांसदले ओली समूहका मुख्यमन्त्री पौडेलविरुद्ध पुस १० गते अविश्वासको प्रस्ताव दर्ता गराएको थियो । इकान्तिपुरबाट