महेन्द्र मावि, पदमपोखरीको २१ कोठे भवनको शिलान्यास

बाग्मती खबर
१३ फाल्गुन २०७७, बिहीबार १५:५७

भूकम्पका कारण पूर्णरुपमा क्षतिभएको महेन्द्र माध्यामिक विद्यालय, पदमपोखरीको २१ कोठे भवनको आज शिलान्यास भएको छ । जाइकाको ऋण सहयोगमा पुननिर्माण प्राधिकरणअन्तर्गत जिल्ला कार्यान्वयन ईकाइ शिक्षामार्फत निर्माण हुने भवनको वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आज एक कार्यक्रमकाबीच शिलान्यास गर्नुभयो ।
भवन शिलान्यासगर्दै मुख्यमन्त्री पौडेलले हरेक स्थानीय तहमा कम्तिमा एउटा प्राविधिक शिक्षालय सञ्चालन गरिनुपर्ने धारणा राख्नुभयो । पौडेलले हाल विद्यालयलाई बेरोजगार उत्पादन गर्ने कारखाना भनिने गरेको उल्लेख गर्दै श्रम बजारमा बिक्ने खालको शिक्षामा जोड दिनसके विद्यालयलाई बेरोजगार उत्पादन गर्ने थलोकोरुपमा नभइ दक्ष जनशक्ति उत्पादन गर्ने थलोकोरुपमा बुझाउन सकिने बताउनुभयो । उहाँले विद्यालयले ज्ञान र सिप दुबै दिनुपर्ने उल्लेख गर्नुभयो । पौडेलले पदमपोखरी क्षेत्रमा कृषि शिक्षामा जोडदिनसके राम्रो प्रतिफल लिनसकिने बताउनुभयो ।
वाग्मती प्रदेशका प्रदेश सभा सदस्य जुनेली श्रेष्ठले भौतिक पूर्वाधारको क्षेत्रमा फड्को मारेको पदमपोखरी क्षेत्रको विकासमा प्रदेश सरकार र मुख्यमन्त्री पौडेलले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।
पुननिर्माण प्रधिकारण जिल्ला कार्यान्वयन ईकाइ शिक्षाका प्रमुख बद्रीबहादुर पाठकले जापान सरकारको ऋण सहयोगमा मकवानपुरमा ४१ वटा विद्यालय भवन पुननिर्माण हुने बताउँदै अधिकांश भवनहरुको पुननिर्माण कार्य सम्पन्न भइसकेको जानकारी दिनुभयो ।
उहाँले आजबाट निर्माण प्रारम्भ भएको २१ कोठे भवन कर बाहेक रु पाँच करोड ३५ लाखमा भित्रमा सक्नेगरी निर्माण कम्पनी शर्मा जेभीसँग सम्झौता गरिएको बताउनुभयो । सम्झौता अनुसार उक्त निर्माण कम्पनीले सन् २०२२ को अगस्ट ५ सम्ममा निर्माण सम्पन्न गरिसक्नुपर्ने उहाँको भनाइ छ ।