ओलीको प्रस्तावमा माधव नेपालको जवाफ :विष्णु पौडेल

बाग्मती खबर
२७ जेष्ठ २०७८, बिहीबार १२:२४

काठमाडौं- उप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले पार्टीका माधव नेपाल, झलनाथ खनाल समूहले दिएको जवाफ अत्यन्त गम्भिर प्रकृतिको रहेको बताएका छन् ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उदार र खुला विचारका साथ गरेको एकता आव्हानलाई अस्वीकार गर्नुले नेपाल–खनाल समूह पार्टी एकताको पक्षमा नरहेको बुझ्न बाध्य बनाएको बताए ।

पौडेलले आफ्नो पार्टीको प्रधानमन्त्री हटाएर विपक्षी दलको व्यक्तिलाई प्रधानमन्त्री बनाउने खेल सफल नहुने बताए ।

पार्टीका आम कार्यकर्ता एकताको पक्षमा रहेको अवस्थामा नेपाल–खनाल पक्ष कुनैपनि हालतमा विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन लाग्नु, आफ्नो अडानबाट पछि हट्न नखोज्नु, पार्टी एकताको लागि घातक भएको बताए । यसरी घातक खेलमा लागेका व्यक्तिहरु अलग हुनसक्ने तर पार्टी विभाजन हुन नसक्ने स्पष्ट पारे ।

संस्थापन पक्षले पार्टी एकताको लागि अन्तिमसम्म कोसिस गर्ने बताए । पार्टीका नेता, कार्यकर्ता अहिले पनि एकताको पक्षमा रहेकोले विभाजनमा जाने नेताहरुलाई कसैले साथ नदिने तर्क गरे । ओलीले एकताको आह्वान गर्दै ६ बुँदे प्रस्ताव अघि सारेपछि नेपालले एक विज्ञप्तिमार्फत ६ बुँदे नै जवाफसहित ओलीमाथि विभिन्न प्रश्न गरेका थिए ।