गण्डकी प्रदेशसभामा खेलकुदमन्त्री मनाङे् अनुपस्थित

बाग्मती खबर
२७ जेष्ठ २०७८, बिहीबार १६:१६

पोखरा — गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशसभामा विश्वासको मत मागेका छन् । प्रदेशसभामा गुरुङले आफ्नो नेतृत्वको सरकारलाई विश्वास रहेको वा नरहेकोबारे मतविभाजन हुने भएको छ ।

संविधानको धारा १ सय ६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्री नियुक्त भएका पृथ्वीसुब्बा गुरुङले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिन लागेका हुन् । अहिले मुख्यमन्त्री गुरुङले संविधानको धारा १६८ को उपधारा ४ बमोजिम प्रदेशसभाको विश्वास पाउँ भन्दै वक्तव्यसहित प्रस्ताव पेस गरिरहेका छन ।

६० सदस्यीय गण्डकी प्रदेशसभामा सत्तारुढ र विपक्षी दुवैको बहुमत पुग्ने अवस्था छैन । यस्तो अवस्थामा स्वतन्त्र सांसद एवं युवा तथा खेलकुदमन्त्री  दीपक मनाङे भने प्रदेशसभामा अनुपस्थित रहेका छन् । यो समाचार तयार पार्दासम्म मनाङे र मनाङेका सहयोगीसँग सम्पर्क हुन सकेको छैन ।

गण्डकी प्रदेशमा सरकार बचाउन र बनाउन ३१ सांसदको आवस्यकता पर्छ । प्रदेशसभामा एमालेका २७ सांसद छन् । स्वतन्त्र सांसद  दीपक मनाङे मन्त्री बनाएपछि मुख्यमन्त्रीको पक्षमा थिए । तर उनले प्रदेशसभा भंग गर्न नहुने भन्दै विपक्षी गठबन्धनलाई सघाउने आशयसाथ आजै बिहानदेखि सम्पर्कविहीन भएका छन् । राष्ट्रिय जनमोर्चाका सांसद थापाले पनि पार्टीमा विद्रोह गरी मुख्यमन्त्रीमा गुरुङलाई सघाउने भन्दै आएका छन् ।

मुख्यमन्त्री गुरुङको पक्षमा २९ मत देखिए पनि मन्त्री दीपक मनाङेको निश्चित छैन । अन्य दलका सांसदहरूले फ्लोरक्रस नगरे मुख्यमन्त्रीले विश्वासको मत पाउने छैनन् ।

विपक्षी गठबन्धनसँग पनि अहिल्यै बहुमत सांसद देखिँदैनन् । दीपक मनाङेले समर्थन गरे भने बहुमत पुग्छ । तर सत्तापक्ष विपक्षीलाई कुनै पनि हालतमा बहुमत पुर्‍याउनबाट रोक्नेमै केन्द्रित छ । यसो भएमा कसैको पनि बहुमत नपुगेको भन्दै प्रदेशसभा विघटनसमेत हुनसक्ने आकलन गरिएको छ । विपक्षी गठबन्धनमा कांग्रेसका १५, माओवादी केन्द्रका सभामुखसहित १२, राष्ट्रिय जनमोर्चाका ३ ९एक जना कृष्ण थापाले विपक्षीलाई नसघाउने भनेका छन र जनता समाजवादीका २ सांसद छन् ।

यस्तो अवस्थामा विपक्षी गठबन्धनमा ३० मत छ । सभामुखले राजीनामा दिएर ३१ पुर्‍याउने अन्तिम कसरत पनि उनीहरुको छ । विपक्षी गठबन्धनले प्रदेश प्रमुखले जालझेल गर्न सक्ने भन्दै बुधबार भेटेर त्यस्तो नगर्न भनेका थिए ।