कोरोना नियन्त्रणको लागी बागमती प्रदेश सकारको तयारी

बाग्मती खबर
२७ जेष्ठ २०७८, बिहीबार १८:३९

तीनै तहका सरकार एवम् सबै सरोकारवालासँगको सहकार्य र समन्वयमा कोभिड–१९ बाट देखिएको सङ्क्रयमण नियन्त्रण, रोकथाम र उपचार गरी नागरिकहरूको जीवन सहज बनाउन र अर्थतन्त्र पुनरुत्थान गर्न बागमती प्रदेश सरकार प्रतिबद्ध रहेको जनाएको छ ।

आज प्रदेशसभामा प्रदेश प्रमुख बिवष्णु प्रसाद प्रसाइले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नेपाल सरकारसँगको समन्वय र सहकार्यमा प्रदेशका सबै बासिन्दाहरूलाई अनिवार्य रूपमा खोपको व्यवस्था गरिने वताउनुभयो । कोभिड–१९ महामारीको रोकथाम, नियन्त्रण र उपचारको सुनिश्चितता गरी प्रदेशका बासिन्दाहरूको जीवन रक्षा गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उहाँले वताउनुभयो ।

कोभिड १९ लगायत महामारीजन्य रोगहरूको रोकथाम, उपचार र नियन्त्रणका कार्यहरूलाई थप प्रभावकारी बनाउन प्रदेशअन्तर्गत रहेका सबै अस्पताल लगायत स्वास्थ्य संस्थाको सेवा विस्तार तथा गुणस्तर अभिवृद्धिका लागि आवश्यक भौतिक पूर्वाधार, जनशक्ति तथा उपकरणको व्यवस्था गरी प्रणालीगत सुधार गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । प्रदेश सरकार अन्तर्गतका प्रयोगशाला र अस्पतालहरूमा पिसिआर ल्याब स्थापना गरी कोभिड १९ को निशुल्क परीक्षणको व्यवस्था मिलाइने प्रदेश सरकारको तयारी छ ।

कोभिड १९ को उपचारमा जनशक्तिको अभाव हुन नदिन आवश्यक चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरूलाई सेवा करारमा लिने व्यवस्था मिलाइने भएको छ । स्वास्थ्यकर्मीहरूको सीप र क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिने उहाँले वताउनुभयो । उहाँले भन्नुभयो–‘कोभिड १९ ले विद्यालय शिक्षण सिकाइमा पारेको प्रभावलाई न्यूनीकरण गर्न वैकल्पिक पद्धति मार्फत शिक्षण सिकाइलाई निरन्तरता दिइने छ ।

स्थानीय तहका ३५९ वटा सामुदायिक माध्यामिक विद्यालयहरूमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रमअन्तर्गत परिचालित स्वास्थ्यकर्मीलाई कोभिड १९ लगायत सरुवा रोगको रोकथाम नियन्त्रणमा सचेतना जगाउने र उपचारका लागि अस्पताल एवम् स्वास्थ्य संस्थामा समेत आवश्यकता अनुसार खटाइने छ। कोभिड १९ को कारण आमाबाबु दुवै गुमाएका बालबालिकाहरूलाई स्थानीय तहसँगको सहकार्यमा मासिक तीन हजारका दरले शैक्षिक तथा सामाजिक सुरक्षा भत्ता प्रदान गरिने छ ।’

कोभिड १९ का कारण प्रदेशको अर्थतन्त्र र समग्र विकासमा परेको असरलाइ न्युनीकरण गर्न लक्षित वर्ग र क्षेत्र विशेषमा पुनरुत्थान र पुनर्भरण कार्यक्रम ल्याइने नीति तथा कार्यक्रममा उल्लेख छ। बैँक तथा वित्तीय संस्थाहरूको सहकार्यमा प्रदेश सरकारबाट सञ्चालित ‘उत्पादन तथा रोजगारी सिर्जनाका लागि सहुलियतपूर्ण ऋण लगानी कार्यक्रम’ लाई निरन्तरता दिइने उहाँले वताउनुभयो । यस कार्यक्रमको प्रभावकारिताको अध्ययन गरिने छ।

कोरोनाले उद्योग तथा पर्यटन क्षेत्रमा पारेको नकरात्मक असरलाई सम्बोधन गर्न जहाँ प्रविधि, पुँजी र सीप, त्यहाँ युवाको हित’ भन्ने सोचसहित युवाहरूमा उद्यमशीलता र स्वरोजगार विकास गर्न प्रविधि हस्तान्तरण, सहुलियतपूर्ण कर्जा, सीपमूलक तालिम लगायतका उद्यमी क्षमता अभिवृद्धि गर्ने कार्यक्रमलाई थप प्रभावकारी बनाइने सरकारी तयारी छ ।

कोभिड १९ माहामारीको कारण रोजगारी गुमाई आफ्नो गाउँ फर्किएका जनशक्तिलाई उद्यमशीलता विकास र रोजगारीका अवसरहरू सिर्जना गर्न मेरो गाउँ उद्यमसहित जिउँने ठाउँ’ लाई अभियानको रूपमा सञ्चालन गर्ने गरी भौतिक पूर्वाधार निर्माण, उद्यमशीलता र रोजगारीका कार्यक्रम अगाडि बढाइने भएको छ । कोभिड १९ लगायतका कारणबाट समयभित्र नवीकरण हुन नसकेका पर्यटन व्यवसाय तथा एजेन्सी, उद्योग एवम् व्यापारिक फर्महरूलाई एक पटकका लागि नवीकरण गर्ने व्यवस्था मिलाइने छ।