अविरल वर्षासंगै परेको पानीका कारण हेटौँडाका विभिन्न क्षेत्र डुवानमा

बाग्मती खबर
२२ असार २०७८, मंगलवार ११:०८

 

हेटौडा । वर्षातको समय सुरु भएसँगै मकवानपुरमा पनि बाढी पहिरोको जोखिम बढने गरेको छ । मकवानपुर जिल्ला बाढि पहिरोको उच्च जोखिमको क्षेत्रको रुपमा रहँदै आएको छ । वाढी पहिरोको कारण यहाँ वर्षेनि जनधनको क्षति हुने गरेको कारण पनि मकवानपुर उच्च जोखिमको जिल्लाको रुपमा चित्रित हुँदै आएको हो ।

अविरल वर्षासंगै आएको पानीका कारण हेटौँडाका विभिन्न क्षेत्र डुवानमा परेका छन् ।

सडक निर्माण नहुदा र ढल निकासी नहुदा बस्तीमा बाढी पसेर स्थानिय बासिन्दा चिन्तित बनेका छन् । सडक निर्माण र ढल निकासीको व्यवस्था गर्न सरकारसंग स्थानिय बासिन्दा बिमला राना मगरले आग्रह गर्नु भएको छ । उहाँले यस्तो अवस्थामा पनि स्थानिय तहले वेवास्ता गरेको बताउनु भएको छ ।

ढलको राम्रो निकासी नहुदा बस्ति डुबानमा परेको र बाढी पहिरोको जोखिम भनै  बढेको स्थानिय लाल बहादुर वाइबा बताउनु हुन्छ ।

ढल निकासीको व्यवस्था नभएको कारण अविरल बर्षाले बस्ति डुबानमा परेको छ । शान्तीनगरका करिब २५ घरधुरि डुबानमा परेको अर्का स्थानिय किरन थापा बताउनु हुन्छ । स्थानिय तहले बेवास्ता गरेको र स्थानिय बासिन्दालाई ढल निकासाको व्यवस्था गर्ने भनेर आश्वासन मात्र दिएको उहाँले बताउनु भएको छ ।

शान्तीनगरका बस्तिहरु आज देखि नभइ हरेक वर्ष डुबानमा पर्ने गरेको र ढलको निकासी गर्नको लागि सरकारि निकायले आश्वासन मात्र दिएको स्थानिय बासिन्दा बिनोद प्रसाद चौघरीले बताउनु भयो ।

जनप्रतिनिधिहरु अनुगमनमा गएको र सरकारि निकायले पहल गरेर अबका बर्षहरुमा ढल निकासीको व्यवस्था हुन्छ भन्ने आशा रहेको उहाँले बताउनु भयो ।

घरबस्तिहरु डुबानमा परेको र बस्नलाई समेत निकै समस्या परेको स्थानिय मनमाया लामाले बताउनु भयो । घर डुबानमा पर्दा बालबच्चा समेत छिमेकिको घरमा राख्नु परेको छ ।

हरेक वर्ष बस्ति डुबानमा पर्ने गरेको र बस्ति डुबानमा पर्दा समेत स्थानिय निकायले व्यवास्था गरेको शान्तीनगरका बासिन्दाले बताएका छन । घर डुबान हुदाँ रातको निन्द्रा समेत गुमाएर बस्नु परेको र धेरै पिडा भएको स्थानिय बासिन्दा बताउछन । बाढी घर भित्रै पसेपछि दजनौं परिवार विस्थापित भएका छन् । घरको तल्लो तलामा रहेका भाडकुडादेखि ओड्ने ओछ्याउने समेत डुवाएपछि स्थानीय चिन्तीत बनेका छन् ।

खोलामा फोहोर फाल्ने, खोलामा जम्मा भएको बालुवा सफा नगर्ने, ढलको निकासा नहुने जस्ता कारणले गर्दा हरेकवर्ष बाढीले बस्तीहरु डुबानमा पर्ने गरेको छ ।