कांग्रेस सभापतिमा प्रकाशमान सिंहको उम्मेदवारी घोषणा

बाग्मती खबर
९ आश्विन २०७८, शनिबार १५:१८

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पनि पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । नेता सिंहले पार्टीमा आमूल परिवर्तन ल्याउनका लागि आफूले पार्टीको ‘नम्बर वान म्यान’ भएर काम गर्ने निष्कर्ष निकालेको बताए ।

नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा नम्बर १७ ले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले अवसर पाएर पनि नेताहरुले काम नगरेका कारण पार्टी लथालिङ्ग अवस्थामा पुगेको उल्लेख गर्दै १४ महाधिवेशनले पनि पूरानै नेताहरुलाई नेतृत्व सुम्पिए नेपाली कांग्रेसको हालत प्रजापरिषद्को जस्तै हुने चेतावनी समेत दिए ।

उनले सिंगो पार्टी पंक्तिलाई संस्थागत ढंगले अघि बढाउन पनि आफूले पार्टीको ‘नम्बर वान म्यान’ भएर काम गर्न चाहेको बताए । नेता सिंहले आफूले लामो समयदेखि पार्टीको दोस्रो तहमा रहेर काम गरिसकेकाले पनि अब सभापति भएर काम गर्न चाहेको बताए ।