इपिएल अन्तर्गत काठमाडौं किङ्स इलाभेन र विराटनगर वारियर्सबीचको पहिलो खेल स्थगित

बाग्मती खबर
११ आश्विन २०७८, सोमबार १५:००

हेटौंडा । एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत काठमाडौं किङ्स इलाभेन र विराटनगर वारियर्सबीचको पहिलो खेल स्थगित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विहान ९ः३० बजे हुने खेल आइतबार परेको पानीले मैदान ओसिलो भएका कारण स्थगित भएको हो ।

यसअघि निर्धारित समयमा खेल सुरु नभएपछि ओभर समेत घटाएर खेलाउने जनाइएको थियो । तर, अन्तिमसम्मै मैदान खेल्नलायक नभएपछि रद्द गरिएको हो । अंक भने बाँढिएको छैन तर, आयोजकका अनुसार खेल अर्कोपटक पुनः हुन सक्छ । त्यसको लागि भने आयोजक, टेक्निकल टिम र दुई क्लबबीच छलफल हुनेछ ।

काठमाडौंले पहिलो खेलमा साबिक विजेता ललितपुर प्याट्रियट्सलाई हराएको थियो । यता, विराटनगर भने चितवनसँग पहिलो खेलमा पराजित भएको थियो । जारी इपिएलको मुख्य आकर्षक बनेका पाकिस्तानी अलराउण्डर शाहिद अफ्रिदीको आज अन्तिम खेल थियो । पाकिस्तानका पूर्व कप्तान समेत रहेका अफ्रिदी इपिएलमा दुई खेल खेल्न काठमाडौं आएका थिए । शनिवारको पहिलो खेलमा उनले तीन ओभर बलिङ गरेका थिए ।

त्यस दिनको खेलमा उनले ब्याटिङ गर्न पाएका थिएनन् । आज हुने भनिएको दोस्रो खेल पनि रद्द भएसँगै उनी इपिएलमा ब्याट नै नछोइ स्वदेश फर्कने भएका छन् । उनी आजै पाकिस्तन जाँदैछन् ।