प्रचण्डको आत्महत्या भर्सन,ध्यानाकर्षणको फन्डा कि साँच्चै विक्षिप्त

बाग्मती खबर
१५ आश्विन २०७८, शुक्रबार ११:३६

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई आत्महत्याको सोच आएको समाचारले यतिखेर सामाजिक सञ्जाल तताएको छ । बिहीबार अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २२औँ राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा उनले भावुक हुँदै आफूलाई आत्महत्या गर्ने सोच आएको बताएका थिए ।

अहिले प्रचण्डको यही भाषण फेसबुक, ट्विटर, टिकटकलगायत सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । प्रचण्डले भगतसिंहको फिल्मको सन्दर्भ निकाल्दै आफू मर्ने कि लड्ने अवस्थामा पुगेको सुनाए । फिल्मीशैलीमा भावुक हुँदै प्रचण्डले भने , ‘भगत सिंहको फिल्म तपाईंहरूले हेर्नुभएको होला । चन्द्रशेखर आजाद छन् । लड्दै गर्दा चारैतिर दुश्मनले घेरा हालेको छ । अब फुत्किने ठाउँ रहेन चन्द्रशेखरको ।’

उनी अझै भन्दै जाँन्छन् , ‘एउटा रूखमुनि बसेका हुन्छन् । पेस्तोल हुन्छ उनीसँग । अब मार्ने नै भए प्रतिक्रियावादीहरूले भनेर एक मुठ्ठी माटो समाउँछन् र समाएर भन्छन्, धर्ती माँ, मैले यत्ति नै गर्न सकेँ–भनेर आफैँले आत्महत्या गर्छन् ।’यही प्रसङ्गसँग आफूलाई जोड्दै प्रचण्डले आफूसँग पनि झन्डै आत्मसमर्पण गरी आत्महत्या गर्नुपर्ने वा लड्नुपर्ने विकल्प रहेको उल्लेख गरे ।

झन्डै–झन्डै मेरोअगाडि अब फेरि लडाइँ गर्ने कि, आत्मसमर्पण त गर्न सक्दिनँ, गर्न हुँदैन। हजारौँ सहिद, बेपत्ता, घाइते, अपाङ्ग योद्धाहरूको सबै ऋण मेरो टाउकोमा छ। या त मैले सकिनँ यत्ति नै रहेछ भनेर आत्महत्या गर्नुपर्ने या त लड्नपर्ने । लड्ने कि मर्ने,’ उहाँले सुनाए ।

ध्यानाकर्षणको फन्डा कि साँच्चै विक्षिप्त ?

बेलाबेला यस्तै फन्डा गरेर चर्चामा आउने प्रचण्डले यसपटक पनि जनताको ध्यान तान्न फालेको अस्त्र हो कि साँच्चै विक्षिप्त बनेका हुन् भन्ने खुल्न सकेको छैन । धेरैले प्रचण्डको अभिव्यक्तिलाई सहानुभूति सङ्कलन गर्न फालिएको अस्त्रका रूपमा बुझेका छन् । केहीले भने साँच्चै विरक्तिएरै पनि भनेको हुनसक्ने आँकलन गरेका छन् ।

दर्शकलाई आफूतिर आकर्षित गर्न माहिर प्रचण्डले गत असार १० गते काठमाडौँमा आयोजित एक कार्यक्रममाअहिलेको राष्ट्रपतिभन्दा त राजा नै ठिक भएको प्रतिक्रिया दिएका थिए । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरी चुनावको घोषणा गरेका थिए । उनले राष्ट्रपतिले प्रधानमन्त्री ओलीको निर्णय सदर गरिदिएपछि राष्ट्रपति संस्था भन्दा राजा नै ठिक रहेको बताएका थिए । उक्त समयमा विभिन्न टिप्पणी हुन थालेपछि प्रचण्डले आफ्नो भनाइलाई बङ्ग्याएर प्रकाशन प्रसारण गरिएको बताएका थियो ।

यो मात्रै होइन, उनकाका पछिल्ला भाषण कि त अतिउत्तेजित कि अतिभावुक हुने गरेका छन् । कुनैबेलामा क्रान्तिकारी नेतामा आएको यो अस्थिर मनस्थिति स्वभाविक होइन । प्रगतिशील पत्रकार दीपेन्द्र रोकायाले आफ्नो पुस्तक ‘नाफाको जीवन’मा प्रचण्डका सम्भावित चार अवसानबारे विश्लेषणसहित अनुमान गरेका छन्। जहाँ उनले प्रचण्डले आत्महत्या गर्नसक्ने सम्भाबना प्रबल भएको लेखेका छन् ।

माओवादी सशस्त्र द्वन्द्वमा प्रत्यक्ष सहभागी भएका पत्रकार रोकायाले पुस्तकमा लेखेका छन् – प्रचण्डका चार विकल्प छन् जस्तो लाग्छ । एक, उनी संसदीय नेतामात्र हुन्छन् । दुई, हेग पुर्याइने डरले बौद्ध भिक्षु बन्न सक्छन् । तीन, आफ्नो काममा आत्मग्लानि भएर स्वयं आत्महत्या गर्न सक्छन् । चार, क्रान्तिकारी कार्यकर्ता वा जनताको हातबाट मारिन सक्छन् ।’

रोकायाले त्यतिकै यस्तो आँकलन गरेनन्। प्रचण्डसँग प्रत्यक्ष सम्बन्ध र उठबस भएका उनले बुझबुझपूर्ण ढंगमै पुस्तकमा प्रचण्डको अवसानबारे लेख्नुभएको होला भन्ने जो कोहीले पनि सहजै अनुमान गर्न सक्छन् । रोकायाले त्यस्तो लेख्नु र प्रचण्डले अचेल निरन्तर ‘मृत्यु चिन्तन’ गर्नु संयोग मात्रै नहुन सक्छ ।जनताटाईम्स बाट