आज हुलाक दिवस : हुलाकको अस्तित्व सङ्कटमा

बाग्मती खबर
२३ आश्विन २०७८, शनिबार १३:१९

हेटौंडा । आज विश्व हुलाक दिवस मनाइँदै छ । सञ्चार सेवाको सबैभन्दा पुरानो तथा भरपर्दो माध्यम हुलाक सेवाको महत्त्व बुझाउँदै हरेक वर्षको अक्टोबर ९ मा विश्व हुलाक दिवस मनाइँदै आएको छ । नेपालले सन् १९५६ मा विश्व हुलाक सङ्घको सदस्यता लिएसँगै हुलाक दिवस मनाउन थालिएको हो । तर, सूचना प्रविधिको विकाससँगै हुलाक सेवाको अस्तित्व भने पछिल्लो समय सङ्कटमा परेको छ ।

हुलाकलाई विश्वभर सूचना सन्देश प्रवाह गर्ने विश्वव्यापी संस्थाका रुपमा लिइन्छ । नेपालमा १९३५ सालदेखि सुरु भएको हुलाक सेवाले जनताको घरदैलोमा सेवा पुर्याउँदै आए पनि सूचना प्रविधिमा भएको विकास र ग्रामीण क्षेत्रमा इन्टरनेटको पहुँचका कारण हुलाकको अस्तित्व जोखिममा परेको हो ।

एक दशकअघिसम्म आमनागरिकको भरोसा बनेको हुलाक सेवा अहिले सरकारी पत्र र केही व्यक्तिगत काममा सीमित छ । हुलाकको प्रयोजन अहिले सरकारी कार्यालयको चिठीपत्र बोक्ने र पार्सलका केही सामग्री पुर्याउने काममा मात्र साँघुरिएको हुलाकका कर्मचारी बताउँछन् ।

हुलाक बचत बैंकलाई सरकारले आर्थिक वर्ष २०७५/७६ बाट खारेज गरेसँगै हुलाकको अस्तित्व झन सङ्कटमा परेको कतिपयको बुझाइ छ । सरकारले हुलाक बचत बैंकको खारेजी गरेसँगै यस बैंकमा जम्मा भएको रकम खातासहित राष्ट्रिय वाणिज्य बैंकमा सारेको थियो ।