हेटौँडामा छठको तयारी सकियो आज बेलुका अस्ताउदा सुर्यलाई अर्घ्य दिएर मनाईदै

बाग्मती खबर
२४ कार्तिक २०७८, बुधबार १०:३४

मकवानपुर । हेटौंडामा छठ पर्वको तयारी पूरा भएको छ । हेटौंडाको राप्ती खोला तथा कर्रा खोलालगायत अन्य खोला नदी र पोखरी लगायतको जलाशयमा छठ पर्वको तयारी पूरा भएको हेटौँडा छठ पूजा समारोह समितिका संयोजक कृष्ण कंशकारले जानकारी दिए । छठ पर्वको मुख्य दिन आज बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ ।

नेपालको मिथिलाञ्चल क्षेत्रमा विशेष रुपमा मनाइँदै आएको छठ पर्व पछिल्लो केही वर्षदेखि पहाडी क्षेत्रमा पनि मनाउन थालिएको छ । जसअन्तर्गत मकवानपुरको हेटौँडा लगायत आसपासका सहर र ग्रामीण क्षेत्रमा छठ पर्व मनाउन थालिएको बताइएको छ ।

संयोजक कंशकारले विगत तीन दिनदेखि छठ घाटको निमार्णलाई तीव्रता दिइएको र छठको घाट सजाउने कार्य पूरा भएको जानकारी दिए । गत वर्ष कोरोना महामारीका कारण सामान्यरुपमा छठ पर्व मनाइएको बताउँदै यस वर्ष स्वास्थ्य मापदण्डको पालना गर्दै छठ पर्व हर्षोल्लासका साथ मनाउने तयारीमा रहेको उनको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरको अनुमतिमा छठको पाण्डाल तयारीमा जुटेको संयोजक कंशकारले बताए । हेटौंडामा रहेको राप्तीतटमा छठघाट (पाण्डाल) करिब ६ सय फिटको दूरीमा निर्माण भएको समितिले जनाएको छ । सो छठको घाटमा एक हजार ब्रतालु र ५० हजार श्रद्धालुले अवलोकन र दर्शन गर्ने अनुमान समितिको छ । छठ पर्वको पूजन सामग्रीको किनमेलका लागि हेटौंडा बजारमा भीड लागेको पाइएको छ । यसका लागि केरा, स्याउ, फलफूल, कागती, अदुुवा, माटोका भाँडाकुँडा, पतौरा, बाँसका सुपली, ढकिया, मिष्टान्न, मैदा, चिनी, सखर, अगरबत्ती, दियोलगायतका पूजन सामग्रीको किनमेल भइरहेको छ ।