एमाले महाधिवेशनका लागि लुम्बिनीबाट ७५ हजार कार्यकर्ता सौराहा आउँदै

बाग्मती खबर
९ मंसिर २०७८, बिहीबार १३:०८

बुटवल । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनका लागि लुम्बिनी प्रदेशबाट झण्डै सात सय गाडी बुक भएका छन् । प्रदेशका १२ जिल्लामध्ये रुपन्देही, नवलपरासी र कपिलवस्तुबाट मात्रै सात सय गाडी बुक भएको पश्चिम नेपाल बस व्यवसायी प्रालिले जनाएको छ ।

प्रारम्भिक रिपोर्ट अनुसार रुपन्देहीबाट ३००, नलवपरासी र कपिलवस्तुबाट दुई-दुई सय र बाँकी जिल्लाहरुबाट थप तीन सय गाडी बुक भएको प्रालिका प्रबन्धक रामचन्द्र भुसालले बताए । ‘जिल्ला जिल्लाबाट यकिन रिपोर्ट त आइसकेको छैन, तर अहिलेसम्मको अवस्था अनुसार रुपन्देही, नवलपरासी र कपिलवस्तुबाट सात सय गाडी बुक भएका छन् भने अरु तीन सय थप जिल्लाहरुबाट बुक भएको छ,’उनले भने । पश्चिम नेपाल बस व्यवसायी प्रालिसँग दुई हजार चार सय गाडी आबद्ध छन् । गाडीको अभाव हुन नदिइने प्रालिका अध्यक्ष दधिराम खरेलले बताए । ‘गाडी धेरैजसो बुक भइसकेका छन्, तर पनि हामी अभाव हुन दिने छैनौं’, उनले भने । बस व्यवसायी प्रालिले बिहीबार साँझदेखि क्यू फ्रि समेत गर्ने भएको छ । शुक्रबार बुटवल नारायणगढ खण्ड बन्द हुने भएकाले भैरहवा हुँदै पूर्व जानका लागि क्यू फ्रि गरिएको खरेलले बताए ।

शुक्रबारदेखि चितवनमा हुने राष्ट्रिय महाधिवेशनमा लुम्बिनीनीबाट ७५ हजार जनताको सहभागिता गराउने एमालेको तयारी छ । यसका लागि एमाले प्रदेश कमिटीले जिल्लागत रुपमा जिम्मेवारी बाँडफाँडसमेत गरेको छ । जिम्मेवारी पाएका जिल्लाहरुले गाडी बुक गरिसकेको र कतिपय आजै साँझ र कतिपय शुक्रबार बिहान ५ बजे हिँड्नेगरी गाडी बुक भएको एमाले लुम्बिनी प्रदेश कमिटी अध्यक्ष लीला गिरीले बताए । लुम्बिनी प्रदेशबाट सबैभन्दा धेरै रुपन्देहीले २२ हजार सहभागी गराउँदै छ । त्यस्तै नवलपरासी र कपिलवस्तु जिल्ला कमिटीलाई १५–१५ हजारका दरले जनसहभागिता गराउने गरी जिम्मेवारी तोकिएको छ ।

त्यस्तै दाङबाट आठ हजार, बाँकेबाट पाँच हजार, बर्दिया र पाल्पाबाट तीन-तीन हजार, गुल्मी, अर्घाखाँची र प्यूठानबाट एक-एक हजार तथा रुकुमपूर्व र रोल्पाबाट पाँच सयका दरले सहभागिता हुनेछ । महाधिवेशनका लागि लुम्बिनी प्रदेशबाट २०८ जना प्रतिनिधि सहभागी हुँदैछन् ।