बाग्मती प्रदेशको राजधानी हेटौडामा भाटभटेनीको २० औँ स्टोर शुभारम्भ

भाटभटेनी सुपर मार्केटले बाग्मती प्रदेशको राजधानी हेटौंडामा स्टोर सञ्चालन गरेको छ । भाटभटेनीले मंगलबारदेखि हेटौंडामा स्टोर सञ्चालनमा ल्याएको हो । भाटभटेनीले हेटौंडा–२ चौकीटोलमा २० औं स्टोरको रुपमा आफ्नो सेवा शुभारम्भ गरेको हो ।
२० औं स्टोरको औपचारिक समारोहका बीच भाटभटेनी सुपर मार्केटका अध्यक्ष मीन बहादुर गुरुङले विधिवत रुपमा शुभारम्भ गरेका छन् । सो अवसरमा सुपर मार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक गुरुङले देशका सबै प्रदेश तथा मुख्य शहरहरुमा स्टोर विस्तार गर्ने अभिायनमा रहेको बताउँदै हेटौंडामा शुभारम्भ भएको स्टोरसँगै देशभर २० वटा स्टोर सञ्चालनमा आएको बताए । स्वदेशमै अन्तराष्ट्रिय स्तरको सपिङ सुविधाको अनुभव गराउनुका साथै धेरै युवाहरुलाई रोजगार प्रदान गर्ने र आयबाट सामाजिक सेवा पनि गर्ने उद्देश्यले व्यवसायलाई प्रवद्र्धन गर्दै अगाडि बढेको जनाए।
साढे १४ कट्ठा क्षेत्रफल रहेको स्टोरमा कुल क्षेत्रफल १ लाख ३४ हजार वर्गफिटका २ वटा बेसमेन्टसहित ८ तले भवन रहेको र दुबै बेसमेण्टमा पार्किङको व्यवस्था रहेको सुपर मार्केटका चिफ अपरेटिङ अफिसर पानु पौडेलले बताए ।
स्टोरमा खाद्यान्न, फलफूल, हरियो तरकारी, फ्रोजन आइटम, हाउस होल्डका सामान,कस्मेटिक सामग्री, किचनवेयर, भाँडाकुँडा, बालबालिकाका खेलौना र शृङ्गारका सामग्री,महिला र पुरुषका तयारी गार्मेन्ट, सारी, कुर्ता ,ब्राण्डेड फेन्सी सामग्री,जुत्ता–चप्पल लगाएतका फुटवेयर सामग्री, टीभी, फ्रिज, वासिङ मेसिन, माइक्रो ओभन, भ्याकुम क्लिनर जस्ता इलेक्ट्रोनिक्स सामग्री,फर्निचर लगाएत दैनिक उपभोग्य सम्पूर्ण सामानहरु उपलब्ध रहेको बजार व्यवस्थापक भट्टराइले बताए ।
भक्तपुरमा १, ललितपुरमा २ ,काठमाण्डौंमा ९, सुनसरीको धरानमा १,मोरङ्गको विराटनगरमा १, चितवनमा १,पोखरामा १, रुपन्देहीको बुटवल र भैरहवामा गरी २ , बाँकेको नेपालगञ्जमा १ र सुनसरीको इटहरीमा १ र मकवानपुरको हेटौंडामा गरी हालसम्म भाट–भटेनीका २० वटा स्टोर सञ्चालनमा आइसकेको उनले जनाए। यस लगत्तै काठमाण्डौंमा थप २ वटा र धनगढीमा १ स्टोर सञ्चालन शुभारम्भ गर्ने भाटभटेनीको तयारी रहेको छ ।