चितवनमा प्रहरी प्रशासनको आडमा भरतपुरमा पैसा बाँडियोः ईश्वर पोखरेल

चितवन। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अहिले पनि जनमतको हिसावले नेकपा एमाले नै देशको ठूलो पार्टी भएको दाबी गरेका छन् । मंगलवार पार्टीको पुरानो केन्द्रीय कार्यालय बल्खुमा आयोजित २९ औँ मदन–आश्रित स्मृति दिवसमा उनले यस्तो बताएका हुन् । वरिष्ठ उपाध्यक्ष पोखरेलले तत्कालीन राजनीतिमा मुलुकलाई प्रतिगामी दिशातिर लैजान लागि परेको गठबन्धनको बिरुद्धमा सम्पूर्ण लोकतन्त्रका पक्षधर एकजुट हुन आवश्यक रहेको बताए ।
उनले स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको पक्षमा संख्यात्मक रुपमा कम जित आएपनि जनमतको आधारमा नेकपा एमाले नै देशको ठूलो पार्टी भएको बताए ।वरिष्ठ उपाध्यक्ष पोखरेलले भने– ‘यतिबेला तत्कालीन राजनीतिमा देखापरेको मुलुकलाई प्रतिगामी दिशातिर लैजान लागि परेको गठबन्धनको बिरुद्धमा सम्पूर्ण लोकतन्त्रका पक्षधर संविधान र कानूनको पालना गर्नुपर्छ भनेर प्रतिवद्धता व्यक्त गरिरहेका जनताहरुको पक्षधरहरु एक ठाउँमा उभिनुपर्ने आवश्यक्ता छ । हामी संख्याको हिसावले केही तलवितल हुनसक्ला तर जनमतको हिसावले माथि नै छौँ । एमालेको पक्षको जनमत पूर्व, पश्चिम, उत्तर, दक्षिणमा एमालेकै बढी जनमत छ । हामी त्यही जनमतको बलमा यो गठबन्धनकारीहरुले गरेका तमाम अपराधजन्य कुराहरूको सामना गर्नेछौँ ।’
त्यस्तै नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्थानीय निर्वाचन बिथोल्न सरकार नै गुण्डागर्दी गरेर लागि परेको आरोप लगाए । उनले सरकार पक्षले नै नेकपा एमालेको प्रभाव भएको स्थानमा निर्वाचन बिथोल्न लागि परेको र मतदाताहरूलाई आफ्नो अधिकार प्रयोग गर्न नदिएको बताए । उनले सरकारी ढंगले एकलौटी रुपमा मत पेटिका ओसार्ने काम गरेको र केही स्थानमा मत गणना पूर्व नै मतपेटिका खोलेको पाइएको पनि बताए । महासचिव पोखरेलले नेकपा एमाले आउने चुनावमा गठबन्धनलाई पराजित गरेर जनमतका हिसावले मात्रै नभइ परिणामका हिसावले पहिलो पार्टी बन्ने दाबी गरे ।
उनले नेकपा एमालेमाथि मत परिणाम आउन थालेपछि विभिन्न आरोप लगायो भन्ने तथ्यहरु आइरहेको भन्दै एकपटक खटाइसकेका कर्मचारीहरुलाई परिवर्तन गर्नेसम्मका कुराहरु नियोजित रुपमा हुनु, संवेदनशील क्षेत्र भनेका ठाउँहरुमा सुरक्षा निकाय, कर्मचारी र नेतृत्व नै परिवर्तन गर्नु र प्रतिपक्षका कार्यकर्ता र उम्मेदवारहहरुमाथि मात्रै अपहरण गर्ने, साङ्घातिक रुपमा हमला गर्ने कार्य हुनुले सत्ता गुण्डागर्दीको सहारामा जनमतलाई प्रभावित बनाउन अग्रसर रहेको आरोप लगाए ।
महासचिव पोखरेलले भने, ‘कतिपय ठाउँमा गुण्डागर्दी गरेर मतदाता फकाइने काम भयो । मतदाता कम आउने तर भोट धेरै आउने विचित्रको अवस्था पनि देखापर्यो । मतदानपछि स्वभाविक रुपमा लोकतान्त्रिक प्रक्रियामा मुचुल्का गरिकन, सिलबन्दी गरिकन बाकससहित प्रतिनिधिहरू लैजान पाउने व्यवस्थालाई यसपटक पालना गरिएन । प्रशासनले एकलौटी ढंगले बाकस लिएन जाने काम भयो । कतिपय ठाउँमा मत गणनापूर्व बाकसको सील तोडेको पाइयो । सहज लोकतान्त्रिक प्रतिष्पर्धा हुँदा नेकपा एमाले अहिले पनि नेपालको सबैभन्दा ठूलो पार्टी हो भन्ने कुरामा कुनै सन्देह छैन । चुनावबाट प्रमाणित भएको छ ।’ जनमतका हिसावले नेपालको पहिलो ठूलो पार्टी नेकपा एमाले नै भएको पनि उनले बताए ।
महासचिव पोखरेलले सत्ता गठबन्धनले नेकपा एमालेको प्रभाव रहेको स्थानमा निर्वाचन बिथोल्न लागिपरेको र सहजै निर्वाचन स्थगित गर्ने प्रकारको प्रवृति देखाएको बताए । उनले चितवनमा प्रहरी प्रशासनको गाडीमा सत्ता पक्षका कार्यकर्ताहरु पुगेर भरतपुरमा पैसा वितरण गर्ने काम भएको र यसलाई सरकारी पक्षले चासो नदिएको बताए । उनले स्थानीय निर्वाचन प्रचारप्रसारका क्रममा पार्टीका कार्यकर्ताहरूमाथि भएको आक्रमणमा दुई जनाको मृत्यु भएको भन्दै घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कारबाही गर्न पनि सरकारसँग माग गरे ।