एन्फाको उम्मेद्वारी घोषणा भोलिबाट, कर्मा र पंकज टिम मिलाउन दौडधुपमा

अखिल नेपाल फुटबल संघ एन्फाको निर्वाचनका लागि उम्मेदवारी दर्ताको समय भोली (शुक्रबार) बाट खुल्ला हुनेछ ।
६ दिनसम्म केन्द्रिय निर्वाचनका लागि उम्मेद्वारी दिने समय राखिएको बताइएको छ । जसमा अध्यक्षका लागि कर्माछिरिङ शेर्पा र हालका बरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङले उम्मेदवारी दिने तयारी गरेका छन ।
आसन्न निर्वाचनका लागि अहिले एन्फामा दुबै पक्षको निकै दौडधुप चलेको छ । शेर्पाले थप चार बर्षका लागि अध्यक्षमा उम्मेदवारी दिने भएका छन भने शेर्पालाई परिवर्तन गर्ने योजनामा रहेका पंकजपनि यहि होडमा रहेका छन ।
असार ६ गते हुने निर्वाचनका लागि जिल्ला, संघ, क्लबबाट मताधिकार पाएर आएका पदाधिकारीसँग दुबै पक्षले छलफल तिब्र पारेका छन । एन्फामा ४८ मध्ये ४५ जिल्लासँग मताधिकार रहेको छ भने यस्तै बी डिभिजनबाट ११ क्लब, चार संघ, राष्ट्रिय लिगका लागि छनोट भएका चार क्लब, ए डिभिजनका १४ र सी डिभिजनका नौं क्लबसँग मताधिकार छ ।
चार बर्षे कार्यकालमा शेर्पाले फुटबल गतिविधीलाई तिब्र पारे पनि अरु केहि कारणले आलोचित पनि बनेका थिए । चेन्ज एन्फाबाट पूर्व अध्यक्ष गणेश थापालाई हटाउन सफल भएको शेर्पाको टिम बिचमा नै केहि मनमुटाव हुँदा बिचमा नै दुई धार भएको थियो । अहिले त्यहि दुई धार निर्वाचनमा होमिएका छन ।
दुबै पक्षले आगामी निर्वाचनमा आफु बिजयी हुने दाबी गर्दै आएका छन । यतिमात्र होइन, दुबै पक्ष प्यानल मिलाउनका लागि दौडधुपमा छन । २१ सदस्सिय हुने कार्यसमितीमा कोषाध्यष र महासचिवमात्र मनोनित हुनेछन । बाँकीको निर्वाचन हुनेछ ।
यो पटकको निर्वाचनमा पंकज नेम्वाङ र कर्माछिरिङ शेर्पा बिचको भिडन्त निकै रोचक हुने संभावना देखिएको छ । यसअघि नै पूर्वका जिल्लाहरुले आफ्नो क्षेत्रबाट उठेको ब्यक्तिलाई भोट दिने भनेर चर्चामा आएका थिए । तर तिनै जिल्लाहरुमा पनि कर्माको केहि पकड रहेको बताइएको छ ।
यो पटकको निर्वाचनमा केहि पदाधिकारी यसअघिकै पोष्टमा दोहोरिने संभावनापनि बलियो छ । यदि उनीहरुले चुनाब जितेको खण्डमा । यो पटक शेर्पा पक्षले केहि नयाँ ब्यक्तिलाई पनि कार्यसमितीमा ल्याउने संभावना देखिएको छ भने पंकज पक्षले आफु निकट रहेका ब्यक्तिलाई आफ्नो कार्यसमितीमा ल्याउने संभावना छ ।
तर पछिल्लो पटक दुबै पक्ष प्यानल मिलाउनका लागि गृहकार्यमा छन ।