सिमरालाई हराउँदै मकवानपुर सेमिफाइनलमा

हेटौंडाः हेटौंडामा जारी मकवानपुर गोल्डकपमा मकवानपुरको एफसी विजय युथले नव जनजागृति युवा क्लब सिमरालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । आज बिहान भएको खेलमा सिमरा बिरुद्ध मकवानपुरले ३ गोल गर्दै सानदार जीत हात पारेको हो ।
मकवानपुरको तर्फबाट भएका ३ वटै गोल खेलको दोस्रो हाफमा मात्र सम्भव भएको थियो । मकवानपुरको लागि पहिलो गोल खेलको ५४ औं मिनेटमा अमिर श्रेष्ठले गरेका थिए भने सन्जोग राईले खेलको ६३ औं मिनेटमा गोल गर्दै मकवानपुरलाई २–० गोलको अग्रता दिलाएका थिए । मकवानपुरको लागि तेस्रो गोल सुनिल घलानले खेलको अतिरिक्त समयमा गर्दै जीत सुनिश्चित गरेका थिए । सुनिल नै म्यान अफ दि म्याच हुँदै नगद १० हजार रुपैयाँ प्राप्त गरे ।
सिमराले गोल गर्ने केही अवसर पाएपनि मकवानपुरका गोलरक्षक अशोक बराल सिमराको लागि बाधक बनेका थिए भने खेलको अन्तिम समयमा मकवानपुरले पाएको पेनाल्टीलाई अमिर श्रेष्ठले गोलमा परिणत गर्न सफल हुन सकेनन् । आज नै क्वाटरफाइनलतर्फको अन्तिम खेल हुँदैछ । दिउँसो ४ बजे पिप्ले क्याम्पा रंगशालामा हुने खेलमा भर्खरै ए डिभिजन लिगमा उक्लिएको चर्च ब्वाइज क्लबले क्यामरुनको एभिनियर क्लबसँग प्रतिस्पर्धा गर्दैछ ।