नेपाल औषधि व्यवसायी संघ मकवानपुरको शुभकामना आदानप्रदान तथा स्वागत कार्यक्रम

हेटौंडा । नेपाल औषधि व्यवसायी संघ जिल्ला शाखा मकवानपुरले हेटौंडामा शुभकामना आदानप्रदान तथा स्वागत कार्यक्रम गरेको छ ।
वीरगंजमा भएको १४ औं महाधिवेशनबाट चयन भएका केन्द्रिय पदाधिकारीलाई हेटौंडामा स्वागत तथा सम्मान गरिएको हो । साथै नजिकिदै गरेको विजया दशमी, शुभदिपावली नेपाल संवत् तथा छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान समेत गरिएको छ ।
नेपाल औषधि व्यवसायी संघका केन्द्रिय अध्यक्ष प्रकाश कुमार खण्डेवालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि खण्डेवालले व्यवसायीको हक हितका लागि काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।
उहाँले व्यवसायीलाई नै धराप पार्ने खालको ऐन संसोधन हुनुपर्ने आवश्यकता समेत औंल्याउनुभयो । औषधि व्यवसायमैत्री कानुन आवश्यक रहेकोमा उहाँको जोड थियो ।
कार्यक्रममा बोल्दै औषधी व्यवस्था विभाग वीरगंजका व्यवस्थापक सुन्दर बज्राचार्यले पछिल्लो समय औषधि व्यवसायीले सिद्धान्त भुलेकोमा दुखेसो व्यक्त गर्नुुभयो । औषधि जस्तो संवेदनशिल क्षेत्रमा कार्य गर्दा सजगता अपनाउनुपर्ने उहाँले बताउनुभयो ।
आम सर्वसाधारणको हित हुनेगरी कार्य गर्न व्यवसायीलाई उहाँको आग्रह थियो । कार्यक्रममा हेटौंडा–११ की वडा अध्यक्ष जुना दाहाल, बागमती प्रदेश औषधि व्यवसायी संघ अध्यक्ष धु्रवराज श्रेष्ठ, मधेश प्रदेश औषधि व्यवसायी संघका महासचिव पप्पु कुमार झा लगायतको आतिथ्यता थियो ।