मिस वल्र्ड कैलाशमा

हेटौंडाः मकवानपुरको कैलाश गाउँपालिका वडा नं ७ मा मिस नेपाल २०१८ कि बिजेता श्रृंखला खतिवडाले निर्माण गरेको स्वास्थ्य चौकीकोे मिस वल्र्ड २०१९ टोनी एन सिंह सहित मिस वल्र्ड आयोजक टोलीले अवलोकन गरेको छ ।
पुर्व मिस नेपाल खतिवडाले मिस वल्र्ड २०१८ को प्रतिस्पर्धामा नेपालका तर्फबाट ब्युटी विथ पर्पोज बिधा जित्न सफल भएको स्वास्थ्यचौकीको अवलोकन गर्न शुक्रबार मिस वल्र्ड टोनी एन सिंह, मिस वल्र्डकी अध्यक्ष जुलिया मोर्ले, मिस नेपाल २०१८ श्रृंखला खतिवडा, मिस नेपाल २०१९ अनुष्का श्रेष्ठ र मिस नेपालका आयोजकहरु पुगेका थिए । उनीहरुलाई कैलाश गाउँपालिका तथा स्थानीयबासिन्दाहरुले भब्य स्वागत गरेका थिए ।
स्वाथ्यचौकीको अवलोकनपछि अवलोकनपछि मिस वल्र्डकी अध्यक्ष मोर्लेले स्वास्थ्य चौकीमा निर्माण गर्न बाँकी रहेको बर्थिङ सेन्टर निर्माण गर्न आर्थिक सहयोग प्रदान गर्ने प्रतिबद्धता ब्यक्त गरेकोे बागमती प्रदेश सांसद मुनु सिग्देलले जानकारी दिनुभयो ।
कार्यक्रममा बागमती प्रदेश सांसद मुनु सिग्देल, संविधानसभा सदस्य गोविन्दराम चेपाङ, हेटौँडा उपमहानगरपालिकाकी उपमेयर मीनाकुमारी लामा, कैलाश गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तान, उपाध्यक्ष सुकुमाया थिङ, मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती, उपाध्यक्ष मनिला बिष्ट लगायत जनप्रतिनिधिहरु र सुरक्षाकर्मीहरुको सहभागिता रहेको थियो ।