३ किमी दौडमा ६ वर्षिय बालक पुरस्कृत हुँदा सबै चकित (फोटो फिचर)

हेटौंडा : मदन भण्डारी स्पोर्टस एकेडेमी हेटौंडा उपमहानगरपालिका ६ नम्बर वडा कमिटिले आयोजना गरेको चौघडा रन ३ किमी खुला दौड प्रतियोगिताबिच घटेको एक घटनाले सबैलाई आश्चर्यचकित बनाएको छ । ११० औं श्रमिक महिला दिवसको अवसरमा आयोजित खुला पुरुष तथा महिला दौड प्रतियोगितामा ६ वर्षिय बालकले पाँचौ स्थान हासिल गरे ।
चौघडा निवासी ६ वर्षिय बालक शुसाङ्ख्य सिंह ठकुरिले प्रतियोगितामा सहभागी अन्य ३७ जना पुरुष धावकहरुसँगै प्रतिस्पर्धा गरेर ३ किमी दुरी पार गर्दै पाचौं भए । प्राय प्रतियोगितामा प्रथम द्धितीय र तृतीयले मात्र पुरस्कार प्राप्त गर्दछन् । तर यति सानै उमेरमा शुसाङ्ख्यको त्यो जोश र हिम्मत देखेर मदन भण्डारी स्पोर्टस एकेडेमी मकवानपुरका अध्यक्ष निरज सिंह ठकुरीले व्यक्तिगत तर्फबाट १ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरे । आजको दिनमा बालबालिकालाई खेलकुदको क्षेत्रमा प्रोत्साहन गरिए भोली तिनै महान् खेलाडी हुन सक्ने अध्यक्ष ठकुरीको भनाई रहेको छ ।
यस्तै प्रतियोगितामा पुरुष तर्फ सविन गुरुङ, शुभाष चौलागाइँ र शरण थिङ क्रमश : प्रथम, द्धितीय र तृतीय भएका थिए । यस्तै महिलातर्फ प्रनिता पुडासैनी, विनिसा भट्टराइ र गीता राइ क्रमश : प्रथम, द्धितीय र तृतीय भएका थिए । विजयी धावकहरुलाइ क्रमश नगद ५ हजार, ३ हजार र २ हजार रुपैयाँ पुरस्कार कार्यक्रमका प्रमुख अतिथि संविधान सभा सदस्य अनन्त पौडेलले वितरण गर्नु भएको थियो ।