कोरोना नियन्त्रणमा लाग्न प्रदेश सभा सदस्यहरुलाई मुख्यमन्त्रीको आग्रह

हेटौंडा:- रासस-वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोभिड १९ नियन्त्रणका लागि प्रदेश सभा सदस्यहरुलाई समेत लाग्न आग्रह गर्नुभएको छ । मुख्यमन्त्री पौडेलले कोरोना नियन्त्रणका लागि आफू मातहतका स्थानीय तहहरुका प्रमुख तथा उप प्रमुखहरुसंग समन्वयगरी पछिल्लो समय भारत लगायत अन्य देशहरुबाट आएका व्यक्तिहरुको तथ्याङ्क सङ्कलन गरी आवश्यक कामकार्वाही गर्ने कामको नेतृत्व गर्न प्रदेश सभा सदस्यहरुलाई अनुरोध गर्नुभएको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ । “मुख्यमन्त्री ज्युले कोभिड १९ नियन्त्रणका लागि बागमती प्रदेशका मानीय प्रदेश सभा सदस्यहरुलाई आफू मातहतका स्थानीय तहहरुका प्रमुख एवं उपप्रमुखहरु संग समन्वयगरी पछिल्लो समयमा भारत लगायत अन्य देशहरुबाट उक्त स्थानीय तहमा आएका व्यक्तिहरुको तथ्याङ्क सङ्कलनगरी आवश्यक कामकार्वाही गर्नुहुन तथा प्रदेशको कोभिड नियन्त्रण उच्चस्तरीय समन्वय समिति एवं मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कर्यालयमा जानकारी गराउनु हुन अनुरोध गर्नुभएको छ” मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव अनुप पौडेलले भन्नुभयो । उहाँका अनुसार मुख्यमन्त्रीले सम्पूर्ण स्थानीय तहका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष तथा सदस्यहरुलाई आफ्नो गाउँटोलमा भारत लगायत विदेशबाट भर्खर आएकाहरुको तथ्याङ्क सङ्कलनगरी उनीहरुसंग प्रत्यक्ष सम्पर्कमा रहेकाहरुको समेत अवस्था , स्वास्थ्य स्थिति आदिको लगत लिई प्रत्यक्ष अनुगमन , निर्देशन तथा सरसहयोग गरिदिन तथा त्यसको अभिलेख आफ्ना क्षेत्रको प्रदेश सभा सदस्यलाई उपलब्ध गराइउन समेत अनुरोध गर्नुभएको छ ।
मुख्यमन्त्री पौडेलले विषम परिस्थितिको मौका लिई कालाबजारी गर्नेहरुको समेत पहिचान गरी प्रदेशको उच्च स्तरीय बजार अनुगमन समितिलाई खबर गर्न समेत अनुरोध गर्नुभएको जनाइएको छ ।