अमेरिकामा रहेका नेपालीबारे राष्ट्रपतिको चासो

न्युयोर्क — कोभिड१९ प्रकोप बढिरहेको अमेरिकामा रहेका नेपालीहरुका बारे राष्ट्रपति विद्यादेवी भण्डारीले जानकारी लिएकी छिन् । स्थानीय समय अनुसार हिजो दिउँसो राष्ट्रपति भण्डारीले फोन मार्फत कोरोना भाइरसको फैलँदो संक्रमण, समग्र नेपालीहरुको स्थिति र संक्रमित नेपालीका बारे सोधपुछ गरेको वासिङटन डिसीस्थित नेपाली राजदूत डा अर्जुन कार्कीले बताए ।
‘अमेरिकामा रहेका नेपाली र विद्यार्थीहरुबारे राष्ट्रपतिले चासो र चिन्ता देखाउनु भयो,’ कार्कीले कान्तिपुरसँग भने, ‘संक्रमित नेपालीहरुका बारे उहाँले सोध्नुभएको थियो।’ राष्ट्रपतिले पछिल्लो स्थिति प्रति दूतावासको लगायत गैरआवासीय नेपाली संघ लगायत नेपाली सामाजिक संस्थाको सक्रियताको विषयमा चासो राखेको राजदूतले बताए। विशेषत सर्वाधिक नेपालीहरुको बसोबास रहेको न्युयोर्क सहरको पछिल्लो स्थिति बारे राष्ट्रपतिको चिन्ता रहेको थियो।
कोरोना संक्रमणले न्युयोर्कमा एक नेपालीको मृत्यु भइसकेको छ भने दर्जनौं संक्रमित भएको अनुमान छ। यद्यपि आधिकारिक तथ्यांक भने उपलब्ध छैन।
कान्तिपुरवाट साभार