मनहरीमा मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु

फोटो गुगल
हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ९ रजैयामा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी मोरङ जिल्ला हरैचा नगरपालिका वडा नम्वर ८ बस्ने विन्दा घिमिरेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक सुजन पाठकले जानकारी दिनुभयो । उहाँको अनुसार मोटरसाइकल चालक लिलामणी घिमिरे भने हेटौँडा ११ स्थित चुरेहिल हस्पिटलमा उपचाररत छन् । घिमिरे दम्पती सवार मोटरसाइकल दिउँसो २ ५० बजे चितवनबाट हेटौँडातर्फ आउँदै गर्दा दुर्घटना भएको थियो । ना ६३ प ५६९८ नम्वरको मोटरसाइकल अनियन्त्रित भएर सडक छेउको नालीमा खसेको प्रहरीले जानकारी दिएको छ ।