बेलायती प्रधानमन्त्री जोनसनलाई आईसीयूमा सारियो

लन्डन :— कोरोना भाइरसबाट संक्रमित बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई आईसीयूमा राखेर उपचार सुरु गरिएको छ ।
आइतबार अस्पताल भर्ना भएका प्रधानमन्त्रीको स्वास्थ्य अवस्था खस्कँदै गएपछि उनलाई आईसीयूमा सारिएको उनको कार्यालय टेन डाउनिङ स्ट्रिटले जानकारी दिएको छ । ५५ वर्षीय जोनसनले आइतबार साँझ आफू नियमित परीक्षणका क्रममा अस्पताल भर्ना भएको र सबै एकजुट भएर लडेमा कोरोना भाइरसविरुद्धको लडाइँमा सफलता हात पार्ने विश्वास दिलाएका थिए ।तर सोमबार अचानक स्वास्थ्यमा समस्या देखिएपछि पनि भने सबै अचम्मित परेका छन् । सेन्ट थोमस अस्पतालमा भर्ना हुनुभन्दा पहिले उनले घरबाटै प्रधानमन्त्रीको जिम्मेवारी वहन गर्दै आएका थिए । आइतबार अस्पताल भर्ना भएसँगै भने उनले विदेश मन्त्री डोमिनिक राबलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएका छन् ।प्रधानमन्त्री कार्यालयका प्रवक्ताका अनुसार बेलायती राष्ट्रिय स्वास्थ्य सेवाका चिकित्सकहरु जोनसनको उपचारमा खटिएका छन्। बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई ११ दिनअघि कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको थियो ।
बेलायतमा मंगलबार बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट ५ हजारभन्दा बढीको मृत्यु भएको छ भने ५० हजारभन्दा बढी संक्रमित भएका छन् ।आजको कान्तिपुर दैनिकमा खवर छ ।