‘थर्मल गन’को कालोबजारी गरेको आरोपमा व्यापारी अग्रवाल पक्राउ

बाग्मती खबर
२६ चैत्र २०७६, बुधबार ०८:२७

काठमान्डौ:- कोरोना भाइरसले निम्त्याएको विपद्को समयमा ज्वरो नाप्ने ‘थर्मल गन’ मा कालोबजारी गरेको आरोपमा शंकर ग्रुपका सुलभ अग्रवाल पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले उनलाई मंगलबार दिउँसो नक्सालस्थित कार्यालयबाट पक्राउ गरेको हो ।

करिब पाँच हजार रुपैयाँ पर्ने ‘थर्मल गन’ लाई उनले १६ हजार रुपैयाँसम्म बिक्री गरेको प्रहरीले जनाएको छ । ग्राहक बनेर डिल गरेको प्रहरीले उनीसँग ६७ वटा थर्मल गन बरामद गरेको छ । प्रहरीका अनुसार उनले कूटनीतिक नियोगले प्रयोग गर्ने निलो नम्बर प्लेटको गाडी दुरुपयोग गरी ज्वरो नाप्ने थर्मल गनको कालोबजारी गर्दै आएका थिए । उनी किर्गिस्तानका लागि नेपालका अवैतनिक महावाणिज्यदूत हुन् । सोही आधारमा उनले निलो नम्बर प्लेटको गाडीको दुरुपयोग गरेका हुन् । पक्राउ परेका अग्रवाललाई कालोबजारी मुद्दामा कारबाही गरिने महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले बताए ।

प्रहरीका अनुसार उनले शनिबार मात्रै चीनको ग्वान्जाओ सहरबाट सात टन स्वास्थ्य सामग्री नेपाल ल्याएका थिए । सोही सामग्री बजार मूल्यभन्दा अत्यधिक महँगोमा बिक्री गरेको सूचनापछि प्रहरीले अनुसन्धान थालेको थियो । सामान किन्न प्रहरी १० लाख रुपैयाँ लिएर गएको थियो । प्रहरीले उनको गाडीसमेत बरामद गरेको छ । पक्राउ परेपछि उनले सो सामान कतिमा किनेको भनेर बिल देखाउन मानेका छैनन् । न्युरोडका विभिन्न पसलबाट खरिद गरेको बताएका छन् । प्रहरीले उनको घरमा समेत छापा हानेकोमा केही बरामद नभएको जनाएको छ । उनी युनियन लाइफ इन्स्योरेन्सका अध्यक्षसमेत हुन् । विपत्को बेला स्वास्थ्य तथा अन्य सामानको कालोबजारी गर्नेहरू निगरानीमा रहेको एसएसपी थापाले बताए ।

२० डलरमा ल्याएको सामान १५ हजारमा बिक्री
२१ चैतमा नेपाल वायुसेवा निगमको चार्टर गरेको जहाजमा शंकर ग्रुपले पाँच सय ६० केजी थर्मल गन र मास्क ल्याएको थियो । फ्लासफ्रेट लजिस्टिक कम्पनीले चार्टर गरेको जहाजमा १९ कम्पनीका ७ दशमलव पाँच टन सामान ल्याएको फ्लासफ्रेट लजिस्टिक कम्पनीकी महाप्रबन्धक अरुणा सिग्देलले बताइन् । कम्पनीले विमानस्थल भन्सारमा प्रति थर्मल गन २० डलरमा पास गरेको थियो । कम्पनीले एक हजार थान २० डलरका दरले रकम तिरेको समेत पाइएको छ । कम्पनीले पाँच हजार थान मास्क ०।७५ डलरमा खरिद गरेको विमानस्थल भन्सारले जानकारी दिएको छ । सो विमानमा सिजी समूहको चार सय ३५ केजी सामान ल्याइएको थियो । नया पत्रिका दैनिकमा खवर छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*