स्वास्थ्य सामग्री ल्याउन ५ देशलाई पत्राचार

काठमाडौँ — कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री खरिद गर्न सेनाले पाँच मुलुक छनोट गरेर परराष्ट्र मन्त्रालयमार्फत पत्राचार गरेको छ । नेपालले चीन, भारत, दक्षिण कोरिया, सिंगापुर र इजरायललाई पत्र पठाएको हो ।सेनाले नेपालमा रहेका विदेशी राजदूतावासका सैनिक सहचारी र नेपालको विदेशस्थित दूतावासमा रहेका आफ्ना सैनिक सहचारीमार्फत स्वास्थ्य सामग्रीको अवस्थाबारे जानकारी लिएको थियो। सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले नेपालको आवश्यकता र ती मुलुकमा पाइने स्वास्थ्य सामग्री हेरेर पत्र पठाइएको कान्तिपुरलाई जानकारी दिए।सरकारले सेनालाई कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री सरकार–सरकार (जीटुजी)प्रक्रियामार्फत खरिद गरेर ल्याउन निर्देशन दिएको थियो। सेनाले कोभिड–१९ विपद् व्यवस्थापन केन्द्रले तयार पारेको सूचीका आधारमा औषधि खरिद प्रक्रिया अघि बढाएको हो। ‘हामीले परराष्ट्रलाई हिजो नै पत्र पठाइसकेका छौं। परराष्ट्रले पत्र सम्बन्धित मुलुकमा पठाउँछ,’ प्रवक्ता पाण्डेले भने।