बाग्मती प्रदेशमा ३ सय २१को स्वाब परीक्षण

हेटौडा लगायत बागमती प्रदेशका १३ जिल्लाबाट २४ घन्टामा कोरोना भाइरस (कोभिड– १९) संक्रमणको आशंका गरिएका तीन सय २१ जनाको थप स्वाब परीक्षणका लागि काठमाडौं पठाइएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टाको अवधिमा १३ जिल्लाका तीन सय २१ जना बिरामीको संकलित स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाइएको हो । ती मध्ये ४८ जनाको नतिजा प्राप्त भएको र सबै नेगेटिभ रहेको मन्त्रालयले जनाएको छ ।
२४ घन्टामा काठमाडौंमा एक, भक्तपुरमा ७८, ललितपुरमा २१, रसुवामा एक, चितवनमा २४ र काभ्रेमा एक सय ९६ जना शंकास्पद बिरामीको स्वाब संकलन गरेर काठमाडौं पठाइएको मन्त्रालयका प्रवक्ता डा पुरुषोतम सेडाइले जानकारी दिए ।
त्यसैगरी धुलिखेल अस्पताल काभ्रेको प्रयोगशालमा १० जनाको स्वाब परीक्षण गरिएको र सबैको नतिजा नेगेभिट रहेको सुवेदीले बताए । मन्त्रालयले हालसम्म शंकास्पद बिरामीमध्ये तीन सय ९९ आइसोलेसन र १२ जनालाई आइसियूमा राखिएको जनाएको छ । २४ घन्टामा २२ जनालाई आइसोलेसनमा भर्ना गरिएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
प्रदेशभर हालसम्म तीन हजार पाँच सय एक बेडको क्वारेन्टाइन, नौ सय ६४ बेडको आइसोलेसन र चार सय ७५ बेडको आइसियू तयारी अवस्थामा रहेको मन्त्रालयको दाबी छ ।