कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या अमेरिकामा सबैभन्दा बढी

वासिङ्टन — कोरोना भाइरस(कोभिड–१९) संक्रमणबाट अमेरिकामा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । जोन होप्किन्स विश्वविद्यालयको कोरोना रिसोर्स सेन्टरका अनुसार आइतबार बिहानसम्म अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २० हजार ५ सय ६ पुगेको छ ।त्यस्तै अमेरिकामा करिब ५ लाख २७ हजार जना कोरोना भाइरसबाट संक्रमित भएका छन्। तीमध्ये ३१ हजार ४ सय २४ जना निको भएका छन्।
अमेरिकापछि सबैभन्दा बढी इटालीमा १९ हजार ४ सय ६८ को मृत्यु भएको छ। आइतबार बिहानसम्म इटालीमा संक्रमितको संख्या एक लाख ५२ हजार २ सय ७१ रहेको छ भने करिब ३२ हजार निको भएका छन्। त्यस्तै अर्को युरोपेली मुलुक स्पेनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ हजार ६ सय ६ रहेको छ। त्यस्तै स्पेनमा संक्रमितको संख्या करिब एक लाख ६३ हजार रहेको छ। स्पेनमा कोरोना संक्रमणपछि निको हुनेको संख्या करिब ५९ हजार रहेको छ।