मन्त्रिपरिषदको बैठक आज बस्दै : फेरि एक साता लकडाउन थप्ने तयारी
काठमाडौं :- मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । विहान ११ बजे प्रधानमन्त्री निवास वालुवाटारमा बैठक बोलाईएको छ । चैत ११ यता जारी लकडाउनको अवधी भोलि ३ गते राती १२ बजेवाट सकिदै गर्दा सरकारले लकडाउनको अवधी फेरि थप गर्ने तयारी गर्न लागेको हो ।
सरकारले यो वीचमा दुई पटक आठ –आठ दिनले लकडाउनको समय थप गरेर वैशाख ३ गते राती १२ बजेसम्म तय गरेको थियो । प्रधानमन्त्री ओलीले प्रदेश प्रमुखहरुसँगको भिडियो कन्फरेन्समा लकडाउन छिटै अन्त्य नहुने बताएका थिए भने हिजो नयाँ वर्षको शुभकामना सन्देश दिने बेला पनि दुई दिनको अवस्था मध्यनजर गरेर सरकारले उपयुक्त निधो लिने बताएका थिए ।
नेपालमा कोरोना भाइरसको संक्रमितको संख्या बढदै जान थालेको र अहिलेसम्म १४ जनामा प्रमाणित नै भईसकेका कारण पनि यो समयावधी सरकारले अझै केही समय लम्वाउने देखिन्छ । कोरोना रोकथाम र नियन्त्रणका लागि उपयुक्त विधि लकडाउन नै भएका कारण पनि सरकारले यो अवधी थप गर्ने तयारी गरेको हो ।काठमाडौंमै पनि संक्रमितको संख्या बढन सक्ने जोखिम देखिएपछि सरकारले अवधी थप गर्ने तिर नै सोचेको सरकारका एक मन्त्रीले वताए । उनका अनुसार, कम्तीमा एक साता देखि १० दिन सम्मलाई अहिले लकडाउनको अवधी थप गर्ने तयारीमा सरकार लागेको छ । कतिपयले वैशाख १५ सम्मलाई लकडाउनमै राख्न सरकारलाई सुझाई रहेका पनि छन् । तर सरकारले अहिले १० गतेसम्मलाई हेरेर निर्णय लिने सम्भावना अधिक रहेको ति मन्त्रीले बताए ।
यस अगाडी सरकारले चैत १८ र चैत २५ मा गरी दुई पटक सम्म लकडाउन को समय थप गदै आएको थियो । कोरोना विरुद्दको भ्याक्सिन पत्ता लाग्न नसकेका कारण विश्वरभ एक लाख बढी मानिसहरुको मृत्यु भईसकेको छ भने २० लाख बढी मानिसहरु संक्रमित छन् ।
नेपालमा कोरोनावाट मान्छे नै मर्ने अवस्था नदेखिएपनि संक्रमितको संख्या बढदै गईरहेको छ । सरकारले नेपालमा दोश्रो चरण, यसको संक्रमण देखिन थालेको बताएको छ । हिजो मात्रै पनि रौतहटमा थप एक जना संक्रमित देखिएका थिए ।
काठमाडौंको पेप्सीकोला स्थित सनसिटि अपार्टमेन्टमा बस्दै आएका एकै परिवारका तीन जनामा र्यापिड टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको छ । यसको पुष्टिका लागि पिसिआर प्रविधिवाट परिक्षण शुरु गरिएको छ ।
यसले पनि नेपालमा अझै जोखिम बढेर गएकोले पनि सरकारले लकडाउनको अवधी थप गर्न लागेको हो । ति मन्त्रीका अनुसार, लकडाउन अवधी बढेसँगै सरकारले आन्तरिक र अन्तराष्ट्रिय हवाई उडान पनि बन्द गर्ने अवधी थप गर्नेछ । अन्त्यावश्यक सेवाको ढुवानीका लागि वाहेक अन्य हवाई उडान रोक्ने समय पनि आजैको मन्त्रिपरिषद् वैठकवाट थप हुने मन्त्रीले वताए ।