अव उपत्यकामा ५ तारे होटलमा क्वारेन्टाइन

बाग्मती खबर
४ बैशाख २०७७, बिहीबार ०८:२४

काठमाडौं :- सरकारले कोरोना भाइरस (कोभिड–१९)को संक्रमण वृद्धि हुँदै गएमा काठमाडौं उपत्यकाका तारे होटललाई क्वारेन्टाइन बनाउने तयारी गरेको छ । काठमाडौं उपत्यकामा निर्माण भएका क्वारेन्टाइनको अवस्थाबारे स्थलगत अनुगमनपछि सरकारले तारे होटललाई क्वारेन्टाइनका रूपमा प्रयोग गर्न सकिने निष्कर्ष निकालेको हो ।

मन्त्रिपरिषद्को गत १६ चैत्रको बैठकले सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतलाई क्वारेन्टाइनको अनुगमन र सहजीकरणको जिम्मेवारी दिएको थियो ।

मन्त्री मानन्धरले उपत्यकाका क्वारेन्टाइनको स्थलगत अनुगमनपछि तारे होटललाई क्वारेन्टाइनका रूपमा प्रयोग गर्नुपर्ने सुझाव पेस गर्न लागेका छन् । ‘स्थलगत अनुगमनपछि मैले अहिलेको अवस्था र अब के के गर्न सकिन्छ भनेर प्रतिवेदन तयार गरेको छु, प्रधानमन्त्रीको समय मिलेमा आज बुझाउँछु,’ उनले भने ।

मन्त्री मानन्धरले कोरोना संक्रमित वृद्धि भएको खण्डमा संक्रमणको आशंका गरिएका व्यक्तिको पनि वृद्धि हुने भन्दै उपत्यकामा ५–६ सय अट्ने क्वारेन्टाइन तयारी अवस्थामा राख्न आवश्यक भएको बताएका छन् । मन्त्री मानन्धरका अनुसार हाल उपत्यकाका तीन जिल्लामा ५ सय १८ वटा क्वारेन्टाइन तयारी अवस्थामा छन् ।

उनका अनुसार पूर्वतयारीस्वरूप ठूलो संख्यामा क्वारेन्टाइन बनाउनुपर्ने र त्यसका लागि पाँच तारे होटल उपयुक्त हुने बताए । ‘मैले प्रधानमन्त्रीज्यूलाई बुझाउने प्रतिवेदनमा पाँचतारे होटलहरूलाई क्वारेन्टाइनका रूपमा निर्णय गरेर प्रयोग गर्नुपर्ने सुझाव समेटेको छु,’ उनले राजधानीसँग भने, ‘एट्याच रुम, ट्वाइलेट बाथरुम, बेडसहित सुविधा सम्पन्न हुने र अहिले पनि ती सबै सामग्री तयारी अवस्था हुने भएकाले क्वारेन्टाइन बनाउन सकिन्छ ।’

मन्त्री मानन्धरले सातै प्रदेश तथा ७ सय ५३ वटै स्थानीय तहमा रहेका होटल, रिसोर्ट तथा होमस्टेसमेतलाई क्वारेन्टाइन बनाउन सकिने बताएका छन् । ‘त्यसो गर्न सकिए १०औं हजार बेड आवश्यक परे पनि तत्काल निर्माण गर्न सकिन्छ,’ उनले भने ।

उपत्यकामा ५ सय १८ बेड
सरकारले काठमाडौं उपत्यकामा ५ सय १८ बेड क्षमताको क्वारेन्टाइन तयारी अवस्थामा राखेको जनाएको छ । सहरी विकास राज्यमन्त्री मानन्धरले तत्काल ५ सय १८ जनालाई एकैपटक राख्न सकिने अवस्था रहेको बताए ।
मन्त्री मानन्धरका अनुसार पशुपतिको धर्मशालामा ७० बेड क्षमताको क्वारेन्टाइन तयारी अवस्थामा छ । खरिपाटीमा २०८ बेड क्षमताको क्वारेन्टाइन रहेको छ । जुन यसअघि पनि प्रयोगमा आइसकेकाले राम्रो रहेको मन्त्री मानन्धरले बताए ।
यस्तै, ललितपुरको स्टाफ कलेजमा सय बेड क्षमता रहेको क्वारेन्टाइन छ । स्टाफ कलेजमा केही सुधार गर्नुपर्ने देखिएको मन्त्री मानन्धरले बताए । भक्तपुरको कृषि तालिम केन्द्रमा ७० बेड तयारी अवस्थामा रहेको छ । नगरकोटनजिक तेलकोटस्थित खानेपानी तालिम केन्द्रमा ७० बेड क्षमताको क्वारेन्टाइन तयारी अवस्थामा रहेको छ । आजको राजधानी दैनिकमा खवर छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*