सडकका कुकुरलाई खुवाउँदै अभिनेता अभिनेत्री

काठमाडौं :- विगत २५ दिनदेखि मुलुकमा लकडाउन जारी छ । जसका कारण सहरका सडकमा आश्रित कुकुर भोकै पर्न थालेका छन् । यस्ता कुकुरलाई खुवाउन अहिले नेपाली चलचित्रका केही कलाकार सक्रिय देखिएका छन् ।
काठमाडौं महानगरपालिकाभित्र मात्रै करिब ८ हजार सडक आश्रित कुकुर रहेको बताइएको छ । लकडाउनका कारण सबै घरभित्र हुँदा यतिबेला यी कुकुरको अवस्था नाजुक छ ।
यही क्रममा नेपाली चलचित्रका नायक नायिकाले सडकमै पुगेर कुकुरलाई खुवाउन थालेका हुन् । यो अभियानको सुरुवात अभिनेत्री वर्षा सिवाकोटीले दुई साता अघिबाट गरेकी हुन् ।
वर्षाले आफ्नो घर नजिकका कुकुरलाई साँझ बिहान नियमित रूपमा खाने कुरा खुवाउने गरेको बताएकी छन् । आफ्नै घरमा कुकुर पालेकी वर्षा कुकुरलाई साह्रै माया गर्छिन् ।
अभिनेत्री वर्षा राउतले पनि सडकका कुकुरलाई खुवाउने काम सुरु गरेकी छन् । उनले पनि आफ्नो घरमा कुकुर पालेकी छन् । यी नायिकाको सडकमा आश्रित जनावरको पीडा बुझ्नुको कारण पनि उनी कुकुरप्रेमी भएर हो । अभिनेत्री वर्षा शिवाकोटीले जस्तै अभिनेत्री वर्षा राउतले पनि नियमित रूपमा सडकका कुकुरलाई खाना पानी दिँदै आएकी छन् । आफूले गरेको यो कामको यी अभिनेत्रीले भिडियोसमेत फेसबुकमा पोस्ट गरेकी छन् । त्यसो त अभिनेत्री वर्षाले आफ्ना श्रीमान् एवं अभिनेता संजोग कोइरालासँग मिलेर सडकमा आश्रित कुकुरलगायत जनावरलाई खुवाउन बेलाबेलामा स्नेह केयरलाई आर्थिक सहयोग पनि गर्दै आएकी छन् ।अर्की अभिनेत्री प्रियंका कार्की पनि आफ्ना श्रीमान् एवं अभिनेता आयुष्मान देशराज जोशीसँग मिलेर यो काम गर्दै आएकी छन् । उनीहरूले आफ्नो बासस्थान वरपरका थुप्रै बिजुलीका पोलहरूको तल हरेक दिन कुकुर र अन्य जनावरका लागि बट्टामा खाना र पानी राखिदिने गरेका छन् । यसरी पोलमा कसरी बट्टालाई बाँधेर राख्ने भन्ने तरिका पनि उनले एउटा भिडियो फेसबुकमा सेयर गरेर सिकाएकी छन् । उनले आफ्ना क्षेत्रका पशुपन्छीका लागि यसैगरी खाना र पानी राखिदिन पनि सबैलाई अनुरोध गरेकी छन् । प्रियंका र आयुष्मान दुवैको यस्तो बेलामा हामीले जनावरलाई पनि बचाउनुपर्ने भनाइ छ ।
प्रियंका आफैंले पनि घरमा कुकुर पालेकी छन् । सोही कारण पनि सडकका कुकुरप्रति माया बढेको हो । त्यसो त मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले केही वर्ष अघिदेखि एउटा संस्था नै खोलेर काठमाडौंको सडकका कुकुरको सेवा गर्दै आएका छन् । उनीहरूले संस्थामार्फत काठमाडौं सडकमा बिरामी भएका कुकुरको उपचार गर्दै आइरहेका छन् । उनीको संस्थाले हजारौं कुकुरलाई उपचारदेखि बन्ध्याकरणसमेत गर्दै आएको छ । मह जोडीले सडकका कुकुरको संरक्षण गर्दै आएको बेला अहिले अन्य कलाकार पनि सडकका कुकुरलाई खुवाउन सक्रिय भएका हुन् ।
राजधानी दैनिकमा खवर छ ।