बाग्मती प्रदेशका स्वाथ्यकर्मीलाइ जोखिम भत्ता र वीमाको व्यवस्था गरिने

हेटौंडा(रासस) :- वाग्मती प्रदेश सरकारले कोरोना भाइरस विरुद्ध गरेका कामहरुको समिक्षा तथा साझा अवधारणाका लागि एकदिने कार्यशाला आज हेटौंडामा सम्पन्न गरेको छ । कोरोना भाइरस , यसको परीक्षण विधि, सावधानीका तौरतरिका आदिमा उच्चपदस्थ व्यक्तित्वहरुमा समेत अलगअलग बुझाई रहेको पाइएकाले विज्ञहरु मार्फत त्यसको समाधानगरी समान बुझाई बनाउन कार्यक्रम आयोजना गरिएको सामाजिक विकास मन्त्री युवराज दुलालले जानकारी दिनुभयो ।
सामाजिक विकास मन्त्रालयको सभाकक्षमा भएको कार्यक्रममा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, सभामुख सानुकुमार श्रेष्ठ, उपसभामुख राधिका तामाङ, मन्त्रीहरु, प्रदेश सभा सदस्यहरु , विभिन्न मन्त्रालयका सचिवहरु , प्रदेश स्वाथ्य निर्देशनालयका निर्देशक, विशेषज्ञहरु एवं चिकित्सकहरुको उपस्थितिमा कोभिड १९ नियन्त्रण तथा उपचारमा प्रदेश सरकारका तर्फबाट भएका कामहरुको बारेमा जानकारी गराइएको थियो ।
कार्यक्रममा आनुवांशिक वैज्ञानिक डाक्टर सन्तोष दुलाल, सामाजिक विकास मन्त्रालयका चिकित्सा शाखाका प्रमुख डाक्टर पुरुषोत्तम सेडाई लगायतका विज्ञहरुले कोरोना भाइरस, त्यसबाट बच्न सकिने उपायहरु आदिका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री दुलालले विगतमा विशिष्ठकृत तथा सुविधा सम्पन्न बाहेकका साना तथा मझौला अस्पताल मात्र प्रदेश सरकार मातहत आएकाले ती अस्पतालहरुमा सुविधाहरु थपगर्न समस्याहरु भएपनि प्रदेश सरकारले थुप्रै कामहरु गरेको जानकारी दिनुभयो । उहाँले प्रदेशले हेटौंडामा वर्षौदेखि थन्किएर बसेको पिसिआर मेसिनको मर्मत सम्भार गरेर सञ्चालन गरेको बताउनुभयो । हेटौंडामा कोरोना परीक्षण मेसिनको सञ्चालन पछि प्रदेशका मकवानपुर, सिन्धुली, चितवनसंगै प्रदेश दुईका जिल्लाहरुको नमुना परीक्षणमा सहजता भएको धारणा राख्नुभयो । मन्त्री दुलालले कोरोना भाइरसको उन्मुलन नहुञ्जेलसम्म यसको त्रास रहिरहने र त्यसको नेपालमा दीर्घकालिन असरपर्ने भएकोले सबै निकायहरुको समन्वयमा काम गरिनुपर्ने उल्लेख गर्नुभयो ।
मन्त्री दुलालले प्रदेश सरकारले कोरोना भाइरस नियन्त्रणमा खटिरहेका स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहन गर्न चाहेको बताउँदै केन्द्र सरकारको समन्वयमा सबै प्रदेशमा एकरुपता आउनेगरी वाग्मती प्रदेशमा पनि स्वास्थ्यकर्मीहरुलाई, जोखिम भत्ता, विमा तथा क्षतिपूर्तिको व्यवस्था गरिने जानकारी दिनुभयो । उहाँले सरकारले जथाभावी विषाणु नासक औषधीहरु छर्कन रोक लगाउने समेत जानकारी दिनुभयो । संक्रमित क्षेत्रहरुमा मात्र छर्कनुपर्ने विषाधीहरु “फेसन” को रुपमा जताततै छर्किएको भन्दै यस्तो गर्नाले आगामी दिनमा अस्पताल लगायत अत्यावश्यक क्षेत्रका लागि विषाणु नाषक औषधीहरुको अभाव हुनसक्ने उल्लेख गर्नुभयो ।