अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ५० हजार नाघ्यो

वासिङ्टन — अमेरिकामा नोवल कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ ।
जोन हप्किन्स विश्वविद्यालयका अनुसार शुक्रबार साँझसम्ममा अमेरिकामा कोभिड–१९ का कारण ५० हजार ३१ जनाले ज्यान गुमाएका छन्। संक्रमित संख्या ८ लाख ७० हजार ४ सय ६८ पुगेको छ।
अमेरिकामा सबैभन्दा धेरै न्युयोर्कमा १६ हजार ३ सय ८८ जनाको मृत्यु भएको छ। कोभिड–१९ बाट विश्वमै अति प्रभावित अमेरिकामा हालसम्म ८० हजार ९ सय ३७ जना निको भइसकेका छन्।
जनवरी २१ मा पहिलो संक्रमित पुष्टि भएसँगै अमेरिकामा हालसम्म ४६ लाख ९२ हजार ७ सय ९७ जनामा कोरोना परीक्षण गरिसकिएको छ र यो क्रम अझै जारी छ ।
गत डिसेम्बर अन्तिममा चीनको वुहानबाट सुरु भएको कोरोना संक्रमण अहिले विश्वभर फैलिइसकेको छ । शुक्रबार साँझसम्म कोरोना संक्रमणबाट विश्वभर ज्यान गुमाउनेको संख्या एक लाख ९२ हजारभन्दा बढी पुगेको छ । त्यस्तै संक्रमितको संख्या करिब २७ लाख ३८ हजार पुग्दा निको हुनेको संख्या ७ लाख ५२ हजार रहेको छ ।