प्रधानमन्त्रीले भेटे अध्यक्ष दाहालसहित सचिवालयका चार नेता

काठमाडौँ :— पार्टीभित्र विवाद पेचिलो बन्दै गएपछि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टी सचिवालयका नेताहरुसँग भेटाघाट बाक्लो बनाएका छन् ।
शनिबार प्रधानमन्त्री ओलीले सचिवालयका चार जना नेतासँग छुट्टाछुटै भेटघाट गरेका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र महासचिव विष्णु पौडेललाई बालुटार बोलाएर छलफल गरेको नेकपा स्रोतले जानकारी दियो । यद्यपि भेटमा के कुराकानी भयो भन्ने नेताहरुले खुलाएका छैनन् ।
प्रधानमन्त्री ओलीले शुक्रबार विपक्षी दलका नेता शेरबहादुर देउवासँग भेट गरेका थिए । त्यसलगत्तै ओलीले अध्यक्ष दाहालसँग छुट्टै भेटघाट गरेका थिए ।
गत ८ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय र सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले ‘संवैधानिक परिषद् ९काम, कर्तव्य, अधिकार र कार्यविधि० सम्बन्धी ९पहिलो संशोधन० अध्यादेश, २०७७ र राजनीतिक दलसम्बन्धी ९दोस्रो संशोधन० अध्यादेश, २०७७ जारी गरेकी थिइन् ।
अध्यादेश जारी भएलगत्तै नेकपामा विवाद भएको छ । सोही विषयलाई लिएर पार्टी र बाहिरबाट थेग्नै नसक्ने विरोध भएपछि प्रधानमन्त्री ओली अध्यादेश फिर्ता गर्न बाध्य भएका थिए । शुक्रबारको मन्त्रिपरिषद् बैठकले अध्यादेश फिर्ता गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को सिफारिस अनुसार राष्ट्रपतिले शुक्रबार नै अध्यादेश खारेज गरेकी थिइन् ।
अध्यादेश खारेज भए पनि नेकपामा विवाद घट्दोक्रममा छैन । बरु बढ्न थालेको छ । अध्यक्ष दाहाल र नेता नेपाल समूहका स्थायी कमिटी सदस्यले तत्काल बैठक बोलाउनुपर्ने माग राखेका छन् । ओली भने तत्काल स्थायी कमिटी बैठक नबोलाउने मनस्थितिमा रहेको बुझिएको छ । आजको कान्तिपुरमा खवर छ ।