प्रधानमन्त्री विरुद्ध रणनीति बनाउँदै नेपाल समूह

काठमाडौँ :- प्रधानमन्त्री केपी ओलीको पछिल्लो कार्यशैली प्रति नेकपाकै उच्चस्तरीय नेताहरु असन्तुष्ट बन्न थालेका छन् ।
माधव नेपाल पक्षधर अधिकांश नेताहरु केपी ओलीको कार्यशैली प्रति रुष्ट बनेका हुन् । आइतबार मात्रै भीम रावल, युवराज ज्ञवाली, गोकर्ण विष्ट, वेदुराम भुसाल, रघुजी पन्त, मन्त्री समेत रहेका योगेश भट्टराई लगायत नेताहरु कोटेश्वरस्थित नेपाल निवासमा विशेष छलफलमा जुटेका थिए ।
उनीहरुले अब एक नेता एक पदको नीति पार्टीको तल्लो तहदेखि नै लागु गर्ने भन्दै प्रधानमन्त्रीलाई पद छाड्न दबाव दिने रणनीति तय गरेको बुझिएको छ । नेपाल पक्षकै भनी भिनिने कृषिमन्त्री समेत रहेका नेता घनश्याम भुसाल भने उक्त छलफलमा सहभागी थिएनन् ।
नेपाल निकट स्रोतका अनुसार भुसालले फोन गरेर मन्त्रालयको कामले गर्दा आफू आउन असमर्थ रहेको जानकारी दिएका थिए । यसअघि मात्रै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वामदेव गौतम लगायत नेताहरु भैँसेपाटीमा बैठक बस्दै प्रधानमन्त्रीको अध्यादेशको निर्णय फिर्ता लिन लगाएका थिए ।
पछिल्लो पटक प्रधानमन्त्रीले अघि सारेका दुई विवादास्पद अध्यादेशका कारण पार्टी आलोचित बनेकोमा नेपाल पक्षधर नेताहरुले चिन्ता व्यक्त गरेका थिए । यसवाहेक ओली निकट भनी चिनिने सांसद महेश बस्नेत, किसन श्रेष्ठको पछिल्लो गतिविधिबाट पनि केही नेताहरु रुष्ट देखिएका थिए ।
यस्ता प्रधानमन्त्रीसँग जोडिने विषयमाथि नेपाल निकट स्थायी कमिटीका नेताहरुले अनौपचारिक छलफलमा चासो देखाएका थिए । नेता नेपालले भने आफ्नो प्रतिक्रिया दिएका थिएनन् । यद्यपि ओलीविरुद्ध पछिल्लो समय नेपाललाई नै अघि सारिएको छ । यसमा पूर्वमाओवादीका नेताहरुले पनि साथ दिँदैआएका छन् । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली र उनी निकट नेताहरु भने नेपाल समुहका नेताहरुसँग परामर्श गर्नतिर लागेका छन् । आजको अन्नपुर्ण पोष्टमा खवर छ ।