हजारौंको खुसी फर्कियो, लाखौं पर्खाइमा

नयाँदिल्ली, दार्चुला, बैतडी — नेपाल र भारत दुवैतिर लकडाउन गरिएको पाँच सातापछि बिहीबार दार्चुला र बैतडीका सीमा नाकामा पहिलोपटक निकै चहलपहल देखियो । भारतको पिथौरागढ, धार्चुला र झुलाघाटका क्वारेन्टाइन तथा विभिन्न शिविरमा राखिएका नेपाली कामदारलाई बिहानैदेखि स्वदेश फर्काउन थालिएको थियो । महाकाली नदीमाथिको झोलुंगे पुल तरेर स्वदेश भित्रिँदा दार्चुला, बैतडीसहित १० जिल्लाका बासिन्दा निकै खुसी देखिन्थे ।
‘बल्ल घर फर्कन पाउने भयौं,’ दसैंतिहार मनाएर मजदुरीका लागि अछामबाट भारत, पिथौरागढको नाचरी पुगेकी दीपा विकले दार्चुला भित्रिएपछि भनिन्, ‘धेरै खुसी लागेको छ ।’ उनीसँगै १३ जनाले धार्चुलाको जोलजिवीबाट १२ किलोमिटर टाढा ब्रह्मस्थित राहत शिविरमा ३४ दिन बिताएका थिए । बैतडीको पुर्चौडी नगरपालिका ४ का नरेन्द्र धामीको टोली बुधबार झुलाघाट नाकाबाट नेपाल भित्रियो । २० वर्षीय धामी ३ महिनाअघि रोजगारीका लागि पिथौरागढ गएका थिए । उनी त्यहाँ होटलमा काम गर्थे । ‘६र७ महिना काम गरेर ३०र४० हजार जोगाउन सकियो भने घरखर्च चलाउन सकिन्छ भनेर पिथौरागढ गएको हुँ,’ उनले भने, ‘तर समय सोचेजस्तो भएन । कोरोनाले गर्दा कमाउन पनि सकिएन, कमाएको जति जोगाएर समयमै घर फर्कन पनि पाइएन ।’ उनी घर आउन तयारी अवस्थामा थिए, त्यही बेला सीमाको पुल बन्द भयो । अनि उतै रोकिएको उनले बताए ।
रोजगारीका लागि भारतको डिडिहाट पुगेका कञ्चनपुर वेदकोट नगरपालिका ९, सुन्दरपुरका करनसिंह ठगुन्ना पनि बिहीबारै स्वदेश फर्किए । भारतको जौलजिवी क्वारेन्टाइनमा ३१ दिन बसेपछि आउन पाएको बताए । ‘चैत तेस्रो साता घर फर्कने योजनासहित डिडिहाट पुगेको थिएँ, लकडाउनका कारण फर्कन पाइएन, ढिलै भए पनि मातृभूमि टेक्न पाउँदा खुसी लागेको छ,’ उनले भने ।
नाका बन्द भएपछि उतै अड्किएका दार्चुला, बैतडी, बझाङसहित १० जिल्लाका करिब २६ सय नेपालीलाई दार्चुला सदरमुकामको खलंगा र महाकाली नगरपालिका–९ दत्तु तथा बैतडीको झुलाघाट नाकाबाट बुधबार उद्धार गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाका अनुसार बैतडी र बझाङका नागरिकलाई दत्तु नाकाबाट र दार्चुलासहित अन्य जिल्लाका नेपालीलाई खलंगा नाकाबाट उद्धार गरिएको छ । गत चैत १३ गतेदेखि भारत, पिथौरागढस्थित धार्चुलाका पाँच क्वारेन्टाइनमा १ हजार ३९ जना बसेका थिए । पुल खुल्ने थाहा पाएपछि विभिन्न ठाउँमा अलपत्र परेका र चिनजानका मानिसका घरमा बसेकाहरू पनि स्वदेश फर्किएको हुनाले संख्या बढी देखिएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए । उनका अनुसार खलंगाका नाकाबाट २ सय ८० जना क्वारेन्टाइनमा बसेका र ९६ जना बाहिर रहेका नेपाली फर्किएका छन् । दत्तु नाकाबाट ७ सय ५९ जना क्वारेन्टाइनमा बसेका र १ सय ६१ जना बाहिर बसोबास गरेका नेपाली आएका छन् ।
यस्तै भारतको पिथौरागढ जिल्लाका विभिन्न क्वारेन्टाइन र त्यहाँ अलपत्र परेका नागरिकलाई बिहीबार नेपाल–भारत सीमा नाका झुलाघाटबाट बैतडी ल्याइएको छ । क्वारेन्टाइनमा बसेका ६ सय जना र अन्य विभिन्न स्थानमा रहेकासमेत गरी १ हजार २ सय ९९ जनालाई ल्याइएको हो । झुलाघाट नाकाबाट भित्रिएका अधिकांश बैतडीका छन् । उनीहरूमध्ये केही बझाङ, कैलाली, अछाम, सुर्खेतलगायत जिल्लाका छन् । बैतडीको पुर्चौडी नगरपालिकाका सबैभन्दा धेरै छन् । आजको कान्तिपुरमा खवर छ ।