किन विवादित बन्यो भरतपुरको कोरोना अस्पताल ?

आजको पत्रपत्रिका
बाग्मती खबर
१९ बैशाख २०७७, शुक्रबार ०७:४५

काठमाडौँ :— भरतपुरको कोरोना विशेष अस्थायी अस्पताल अहिले विवादको उत्कर्षमा छ । कर्मचारीले सामान ओसार्दै गरेको सीसीटीभी फुटेज र अस्पतालसँग जोडिएको खर्च विवरण सार्वजनिक भएपछि अस्पताल विवादको भुमरीमा फसेको हो । विवाद यसमा मात्रै सीमित छैन ।

अस्थायी अस्पताल सञ्चालन गर्न बनेको कोरोना नियन्त्रण कार्यदलको बैठक मंगलबार बस्यो । बैठकमा अस्पताल सञ्चालन गर्दा भएको खर्च विवरणसमेत पेश भएको थियो । ती विवरणप्रति पनि प्रश्न र असहमति उत्तिकै देखिएको छ । कोरोना अस्पतालको किचलोभित्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमेत प्रवेश गरिसकेको छ ।

भरतपुर महानगर प्रमुख रेनु दाहालको नेतृत्वमा गठन भएको कोरोना नियन्त्रण कार्यदलले अस्पतालको व्यवस्थापन गर्दै आएको थियो । कार्यदलले करारमा राखेका ११ कर्मचारीसहित सरकारी अस्पताल र अन्य अस्पतालका चिकित्सक र प्राविधिकहरु पनि खट्ने गर्दथे । उनीहरु नारायणगढको एक होटलमा क्वारेन्टाइनमा बस्थे । महानगरको क्यान्टिनले चलाएको मेसको खाना र खाजा खान्थे ।

तर, कोरोना संक्रमण लामो समय जान सक्ने र महानगरबाट मात्रै चल्न नसक्ने आकलन गरेपछि भरतपुर अस्पताललाई व्यवस्थापन हस्तान्तरण गर्ने निर्णय भयो । ‘व्यवस्थापन लिए पनि करारका कर्मचारीको तलब आफूहरुले दिन नसक्ने, सामानहरुको दुरुस्त विवरणपछि मात्रै बुझबुझारथ गर्ने र सेवा सुविधा सरकारी अस्पतालसरह नै हुने सर्त थियो,’ भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपेरिटेन्डेन्ट डा। श्रीराम तिवारीले भने ।

करारका स्वास्थ्यकर्मीहरुले तलब महानगरबाटै लिने भए । तर, क्वारेन्टाइनका लागि भरतपुर अस्पतालको तालिम केन्द्रको आवासमा बस्नुपर्ने भयो । अस्पतालकै मेसको खाना खानु पर्ने भयो । यसपछि असन्तोष बढ्यो । सीसीटीभी फुटेज उनीहरुले नै लिक गरेको बताइएको छ । ‘मैले ठ्याक्कै किन भन्नुपर्‍यो र रु सीसीटीभीको भिडियो कसले बाहिर ल्यायो भन्ने कुरा पनि सीसीटीभीमै रेकर्ड छ,’ कोरोना नियन्त्रण कार्यदलका सदस्यसचिव रहेका डा। भोजराज अधिकारीले भने ।

कोरोना अस्पतालको व्यवस्थापन परिवर्तन हुने भएपछि कोरोना नियन्त्रण कार्यदलले केही सामग्रीहरु प्रयोग गर्ने सोच बनाएको डा। अधिकारी बताउँछन् । अस्पतालका लागि भनेर खरिद गरिएको सामग्री नभई सहयोग स्वरुप आएकामध्ये ३० प्रतिशत सामग्री कोरोना नियन्त्रण कार्यदलले राखेर आवश्यक ठाउँमा पठाउने निर्णय भएको र त्यहीअनुरुप सामग्री झिक्न भनेको उनले दाबी गरे ।

उनका अनुसार चैत ३० को दिउँसो यी सामानहरु झिक्न भनिएको हो । तर, सीसीटीभी फुटेजमा रातिमा सामान बोकेर बाहिरिएको देखिन्छ । ‘कसैले अह्रायो भन्दैमा कुन चाहिँ अधिकृतले सामानहरु बोकेर हिँड्छ रु त्यो पनि रातारात । त्यसैले नियत खराब छ भन्ने कुरा स्वाभाविक रुपमा देखिन्छ,’ कार्यदलमा रहेका नेपाली कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले भने ।

सीसीटीभी फुटेजमा सामान बोक्दै गरेका व्यक्तिहरुमध्ये एक जना हुन सुर्य तिवारी । उनी भरतपुर महानगरपालिकाको स्वास्थ्य शाखाका अधिकृत हुन् । उनले कोरोना अस्पतालमा कामको चाप रहने हुँदा रातिमा सामानहरु लगेको बताएका छन् । ‘कार्यदलबाट आएको निर्देशनअनुसार सामानहरु निकालेको हो । हामी रात–रात काम गर्ने व्यक्ति हौं । त्यो दिन मात्रै राति बसेको होइन,’ तिवारीले भने ।

हिसाबमा कार्यदलभित्रै असहमति

कोरोना नियन्त्रण कार्यदलका सदस्य सचिव डा। अधिकारी कार्यदलले अस्पताल सञ्चालन गर्दा भएको खर्च मंगलबार बसेको बैठकले अनुमोदन गरेको बताउँछन् । ‘त्यस दिन दुई वटा एजेन्डाका लागि बैठक बसेको थियो । एउटा खर्च अनुमोदन भन्ने थियो, अर्को सीसीटीभी फुटेज सार्वजनिक भएको त थिएन तर बाहिरिएको छ भन्ने पनि थियो । त्यसको बारेमा छानबिन गर्न समिति बनाउने भन्ने अर्को एजेन्डा थियो,’ डा। अधिकारीले भने ।

बैठकले यी दुवै एजेन्डा पारित गरेको उनको भनाइ छ । कार्यदलमार्फत कोरोना अस्पताल सञ्चालन हुँदा एक करोड २६ लाख ४८ हजार रुपैयाँ खर्च भएको देखिन्छ । जसमा सवैभन्दा धेरै औषधि खरिद तथा मेसिन औजारमा ५२ लाख २८ हजार रुपैयाँ खर्च भएको छ । यसमा १४ लाख ९० हजार रुपैयाँ बराबरको पाँच सय थान पिपिई किनेको देखिन्छ । कर्मचारी पारिश्रमिकमा १३ लाख ७७ हजार रुपैयाँ खर्च भएको देखाइएको छ ।

अर्को ठूलो खर्च अस्पतालका लागि शौचालय, बाथरुमको पार्टेसन गर्दा भएको छ । जसमा २५ लाख ४४ हजार पाँच सय ४८ रुपैयाँ खर्च भएको देखिन्छ । यो रकम अस्पतालका लागि १२ वटा शौचालय र बाथरुम बनाउँदाको खर्च भएको डा। अधिकारीले जनाए । तर, कार्यदलको बैठकमा खर्च अनुमोदन नभएको कार्यदलको सदस्य रहेका कांग्रेस चितवनका सभापति श्रेष्ठको दाबी छ ।

‘खर्च के कसरी गरियो हामीलाई सुनाएर मात्रै भएन नि, नियमसंगत भए नभएको पनि हेर्नुपर्दछ । केही खर्चहरु स्वभाविक छैनन् । अनि कसरी सुनेको भरमा अनुमोदन गर्ने रु त्यसैका लागि समिति बनाऊँ भनेको हो । समिति बनेको पनि थियो । अनि कसरी खर्च अनुमोदन भयो,’ श्रेष्ठले प्रश्न गरे ।

बैठकले कार्यदलका सदस्य राजु पौडेलको संयोजकत्वमा छानबिन समिति बनाएको थियो । तर, त्यो समिति हिसाबका विषयमा नभई सीसीटीभी फुटेजको विषयमा छानबिन गर्न बनाएको डा। अधिकारी बताउँछन् । अस्पतालबारे विवादहरु छताछुल्ल भएपछि अख्तियारको हेटौंडा कार्यालयको टोलीले मंगलबार अस्पतालबाट कागजपत्र नियन्त्रणमा लिएर छानबिन सुरु गरेको छ । आजको कान्तिपुरमा खवर छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*