भारतमा एकै दिन २४ सय कोरोना संक्रमित

नयाँदिल्ली : भारतमा कडा लकडाउनका बावजुद कोरोना संक्रमितको संख्या तीव्र रुपमा बढ्दैछ ।
शनिबार २४ घण्टाको अवधिमा मात्रै देशभर २४ सय भन्दा धेरै नयाँ संक्रमित थपिए । हालसम्म भारतमा संक्रमितको संख्या ३७ हजार ७ सय भन्दा धेरै भएको छ । शनिबार मात्रै अहमदाबाद सहरमा २० जनाको मृत्यु भयो ।
देशभर मृत्यु हुनेको संख्या १ हजार २ सय २३ भन्दा बढी छ । संक्रमितमध्ये १० हजार भन्दा धेरैको उपचार भइसकेको छ । यससँगै छत्तिसगढका पूर्व मुख्यन्यायाधीश अजय कुमार त्रिपाठीको कोरोना भाइरसकै कारण निधन भएको छ । एम्स अस्पताल ट्रमा सेन्टरमा त्रिपाठीको निधन भएको हो ।
नरेन्द्र मोदी नेतृत्वको सरकारले देशका विभिन्न सहरलाई संक्रमणको प्रभावका आधारमा रेड जोन, ग्रीन जोन र ओरेन्ज जोन गरी सूचीत गरेको छ । सरकारले फेरि मे १८ सम्मका लागि लकडाउन लम्ब्याएको छ । कोरोना भाइरसबाट सबैभन्दा धेरै असर अमेरिकामा पुगेको छ । जहाँ ६४ हजार भन्दा धेरैको मृत्यु हुनुका साथै १० लाख भन्दा धेरै संक्रमित भएका छन् ।