बजेट पहिला नेकपाको स्थायी कमिटी बैठक नबस्ने

काठमाडौं :- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठक सरकारले प्रस्तुत गर्ने बजेटअघि नबस्ने भएको छ ।नेकपाको नेतृत्वमा रहेको सरकार वजेटको तयारीमा व्यस्त हुनुपर्ने भएकाले सो अवधिमा स्थायी कमिटीको बैठक बस्न उचित नहुने प्रस्ताव नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष प्रस्ताव राखेका छन् ।
सो प्रस्तावप्रति अध्यक्ष प्रचण्ड पनि सकारात्मक देखिएको बालुवाटार स्रोतले जनाएको छ । जेठ २ गते सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छ । त्यसको तयारी गर्नुपर्ने, नीति तथा कार्यक्रमपछि बजेट प्रस्तुत गर्ने तयारीमा लाग्नुपर्ने भएकाले त्यसबीचमा स्थायी कमिटीको बैठक बस्नु उचित नहुने दुईजना अध्यक्षको बीचमा लगभग सहमति नै भएको स्रोतको दावी छ ।
भोलिदेखि प्रि बजेटमा पनि छलफल हुने बताइएको छ । त्यसमा प्रतिपक्षी दलहरु आक्रमक रुपमा प्रस्तुत हुने भएको छ । त्यसको प्रतिरक्षाका लागि नेकपा पनि तयार हुनुपर्ने र त्यसका लागि तयारी गर्नुपर्ने पनि देखिएको छ ।
नीति तथा कार्यक्रम र बजेट ल्याउने क्रममा पार्टीको बैठकहरु बस्यो भने नेताहरुको ध्यान अन्यन्त्र जाने भएकाले अहिलेलाई स्थायी कमिटीको बैठक रोक्नुपर्ने अवस्था रहेको अध्यक्ष ओलीको प्रस्ताव थियो । आज अध्यक्षद्धय अोली र प्रचण्डबीच विहान छलफल भएको थियो ।