नेपाली भूमि फोर्दै भारतले सडक बनायो

आजको पत्रपत्रिका
बाग्मती खबर
२८ बैशाख २०७७, आईतवार ०८:०७

दार्चुला:- भारतले नयाँ राजनीतिक नक्सामा नेपालका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समावेश गरेको ६ महिनापछि नेपाली भूभाग अतिक्रमण गर्दै चीनसँग सीमा जोड्ने गरी सडक निर्माण गरेपछि देशभर तीव्र विरोध भएको छ । नेपाली भूभाग र राष्ट्रियतामाथि नै भारतीय पक्षले निर्मम हस्तक्षेप र आक्रमण गरेको भन्दै त्यसविरुद्ध जस्तोसुकै लडाइँ लड्न तयार रहने आम नागरिकको उद्घोष छ । उनीहरूले आफ्नो एक इन्च भूमि नछोड्न नेपाल सरकारसँग माग गर्दै त्यसका लागि आफूहरू सधैं सरकारको साथमा रहने प्रतिबद्धता जनाएका छन् ।

भारतीय पक्षको अतिक्रमणविरुद्ध शनिबार राजधानीलगायत देशका विभिन्न भागमा प्रदर्शन भएको छ । सीमा बचाउ अभियानका संयोजक भैरव रिसालले भारतीय पक्षले नेपाली भूमि फोरेर नेपाली छात्तीमा भारतीय गाडी गुडाउन थालेको भन्दै आपत्ति जनाएका छन् । उनले सरकारले समयमै संवेदनशीलता अपनाउन नसक्दा आफ्नो भूमिमा विदेशीले परेड खेलेको टुलुटुलु हेरेर बस्नुपर्ने बाध्यता भएको बताए ।

भारत पिथौरागढ जिल्लाको धार्चुलातहसिलअन्तर्गत पर्ने यो क्षेत्रमा तावाघाटदेखि कालापानी लिपुलेकसम्मको ९५ किलोमिटर सडकको शुक्रबार भारतीय रक्षामन्त्री राजनाथ सिंहले उद्घाटन गरेपछि विवाद चुलिएको हो । भारतीय पक्षले नेपालका कैयौं भूभाग अतिक्रमण गरेर सो बाटो निर्माण गरेको छ ।

विश्व कोरोना भाइरससँग लडिरहेको र नेपाल संकटसँग सामना गरिरहेको मौका छोपी भारतले एकाएक नेपाली भूमि कालापानी, लिपुलेक हुँदै चीनको मानसरोवर जोड्ने सडक उद्घाटन गरेपछि भारतको हेपाहा प्रवृत्ति फेरि सतहमा आएको हो । भारतले सो क्षेत्रमा सन् २००८ बाटै सडक निर्माण सुरु गरेको थियो । तर, सन् २०१५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीन भ्रमण गर्दा लिपुलेकबाट दुई देशबीच व्यापार गर्ने सम्झौता भएको थियो । सम्झौताअनुसार भारतले सन् २०२० सम्म चीनको सीमा क्षेत्रसम्म सडक पु(याउने घोषणा गरेको थियो ।

व्यासको छाङरुभन्दा माथि लिम्पियाधुराबाट निस्किएको नदी कालीनदी हो भन्ने ऐतिहासिक प्रमाणहरू उपलब्ध छन् । त्यसैले नेपालको सिमाना लिम्पियाधुरासम्म हो । स्थानीय भाषामा कुटी–याङ्दी अर्थात् कालीनदीलाई नै सीमा नदी मान्दा गुन्जी र नाभी कालीवारि नेपालमा पर्छ । तर, ती क्षेत्रलाई पनि भारतीय पक्षले कब्जा जमाउँदै आएको छ ।

सोही घोषणाअनुसार भारतले पाँच–६ खण्ड बनाएर सडक निर्माण गरिरहेको थियो । भारतले ९५ किलोमिटर सडकको ट्र्याक कालापानी, नावीढांग हुँदै लिपुलेक पु(याएको हो । भारतले सडकलाई चीनको सीमा क्षेत्रभन्दा तीन किलोमिटर वरसम्म मात्रै सडक निर्माण गरेको भारतीय अनलाइन संस्करण अमर उजालाले जनाएको छ । सुरक्षाको दृष्टिले चीनसँगको सीमासम्म सडक पुयाइएको छैन ।

धार्चुलाबाट व्यासी पुग्न पाँच दिन लाग्ने गरेकामा सडक बनिसकेपछि चार–पाँच घण्टामा पुग्न सकिने भएको छ । भारतले बीआरओ परियोजनाअन्तर्गत सडक निर्माण गरेको हो । सडक निर्माणमा इन्जिनियरसहित नौ जनाले ज्यान गुमाएका छन् । भारतले लिपुलेकसम्म सडक विस्तार गर्न सन् १९९९ बाट तावाघाट–लिपुलेक ९५ किलोमिटर सीमा सडकको कार्य सञ्चालन गरेको थियो ।

भारत सरकारले तावाघाटबाट लिपुलेकसम्मको सडक निर्माणका लागि ४ अर्ब ८ करोड रुपैया खर्च गरेको छ । सन् २००८ बाट सुरु गरिएको यो सडक तीन वर्षभित्र निर्माण गरिसक्नुपर्ने थियो । तर, जटिल भू–बनोटका कारण धेरै सयम लागेको भारतीय अधिकारीले जानकारी दिएका छन् । आजको राजधानी दैनिकमा खवर छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*